लुम्बिनी, १९ पुस । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष मणिरत्न शाक्यले अवैध रुपमा सञ्चालित सुनचाँदी व्यवसायीका कारण वैध व्यापारीहरु मर्कामा परेको बताउनुभएको छ ।
मुलुकभरी १८ हजारको हाराहारीका सुनचाँदीको व्यवसाय गर्ने व्यवसायी भए पनि सरकारी निकायमा भने १२ हजारमात्रै दर्ता भएर कारोबार गरेको बताउनुभयो ।
अवैध रुपमा सञ्चालित छ हजार सुनचाँदी व्यवसायीका कारण आफूहरु बेलाबेलामा समस्यामा आएको बताउँदै अध्यक्ष शाक्यले सरकारले उनीहरुलाई पनि करको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
उनीहरुलाई करको दायरामा ल्याउन सके सरकारको राजस्वमा वृद्धि हुनुका साथै व्यवसायीलाई प्रतिस्पर्धा गर्नसमेत सजिलो हुने उहाँको बुझाइ छ ।
उहाँले नेपालमा दैनिक ४० देखि ५० किलोसम्म सुनको माग भए पनि सरकारले १५ किलोमात्रै सुन उपलब्ध गराउँदा बजारमा सुनको कालोबजारी बढ्नुका साथै अवैध रुपमा सुन आयात भइरहेको बताउनुभयो ।
रुपन्देही सुनचाँदी व्यवसायी सङ्घले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शाक्यले अवैध रुपमा सञ्चालित छ हजार व्यवसायीले अवैध बाटोबाट आएको सुन प्रयोग गरी गरगहना बनाउने गरेकाले नेपालमा सुनको अवैध कारोबार भइरहेको पुष्टि भएको बताउनुभयो ।
सरकारले बनाउन लागेको सुनचाँदीसम्बन्धी मापदण्ड व्यवसायीलाई समेत मान्य हुनेखालको निर्माण गर्न आग्रह गर्दै अध्यक्ष शाक्यले मापदण्ड बन्नुभन्दा पहिले बनिसकेका गहनालाई डिजाइनको रुपमा सजाउन दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै महासङ्घका उपाध्यक्षद्वय प्रेमकुमार सेञ्चुरी र ज्ञानराज शाक्यले नेपाली कला र संस्कृतिले भरीपूर्ण गहनालाई विदेश निर्यात गर्न मिल्ने गरी मापदण्ड बनाउनुपर्ने बताउनुभयो ।
नेपाली गहनालाई विदेश पठाउन सके विदेशी रुपैयाँ आर्जन गर्नुका साथै नेपालको व्यापार घाटासमेत कम हुन जाने उहाँहरुको भनाइ छ । सुनमा आएको मूल्यमा कमी, असुरक्षा र बजार हल्लाका कारण सुनको कारोबार घटिरहेको उहाँहरु बताउनुहुन्छ । रासस















प्रतिक्रिया