बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

त्रिशूली थ्रि ‘बी’ मा नुवाकोट र रसुवाका लागि २० प्रतिशत सेयर

दैनिक नेपाल २०७१ पुष १८ गते १७:२०

damनुवाकोट, १८ पुस । प्रस्तावित ४२ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रि बी आयोजनाको निर्माणमा नुवाकोट र रसुवावासीको २० प्रतिशत लगानी रहने भएको छ ।

निर्माणको प्रारम्भिक चरणमा रहेको आयोजनाका लागि लाग्ने रु आठ अर्ब मूल्य मध्ये नुवाकोट र रसुवावासीले कम्तीमा २० प्रतिशत लगानी गर्न पाउने आयोजनाले जनाएको छ ।

माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजनाबाट निकास भएको पानीले बनाउन लागेको माथिल्लो त्रिशूली थ्रि ‘बी’ आयोजना ४२ मेगावाटमा अनुमतिको पर्खाइमा रहेको अयोजना प्रमुख दामोदरभक्त श्रेष्ठले बताउनुभएको छ ।

अनुमतिको पर्खाइमा रहेको आयोजनाको निर्माणमा नुवाकोट र रसुवाको स्थानीय निकायले ५ प्रतिशत सेयर पाउने व्यवस्था गरिएको छ ।

स्थानीय निकायका रूपमा नुवाकोटको तर्फबाट विदुर नगरपालिका र ६१ गाविस त्यस्तै, रसुवाको १८ गाविस गरी ५ प्रतिशत सेयर ८० भागमा ५ प्रतिशत रकम लगानी गर्ने व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ ।

यस्तै, नुवाकोट र रसुवाका स्थानीयवासीले कुल लगानीको १० प्रतिशत सेयर पाउने व्यवस्था मिलाइएको छ ।

यस्तै नुवाकोट र रसुवामा जलविद्युत् क्षेत्रमा लगानी गर्नका लागि स्थापना भएको वित्तीय सङ्घ संस्थाले पनि ५ प्रतिशत सेयरमा लगानी गर्न पाउने हँुदा कुल लगानीको २० प्रतिशत सेयर अर्थात् रु आठ अर्बमा निर्माण गर्न लागिएको आयोजनाको पाँच भागको एक भाग लगानी नुवाकोट रसुवामा केन्द्रित रहने पक्का भएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ ।

आयोजनाको बाँकी लगानीमध्ये १५ प्रतिशत सेयर लगानी नेपाली नागरिकका लागि ५ प्रतिशत सेयरमा दूरसञ्चार प्राधिकरण र नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारीको रहने गरी नियमावली तयार गरिएको छ ।

विभिन्न क्षेत्रको ४० प्रतिशत सेयर खुला रूपमा छाड्दै बाँकी रहेको ६० प्रतिशत सेयरमा ३०/३० प्रतिशत हुनेगरी नेपाल विद्युत् प्राधिकरण र दूरसञ्चार प्राधिकरणको रहने माथिल्लो त्रिशूली थ्रि ‘बी’का आयोजना प्रमुख श्रेष्ठले उल्लेख गर्नु भयो ।

माथिल्लो त्रिशूली थ्रि ‘बी’ आयोजनाको प्रारम्भिक सर्भेक्षणअनुसार रु आठ अर्ब लगानी गरी ४२ मेगावाट उत्पादन गर्न अनुमति प्रक्रियामा रहेको छ । रासस

प्रतिक्रिया
सम्बन्धित