बर्दिया, १८ पुस । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले माघ ८ भित्रै संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
बर्दियाको सदरमुकाम गुलरियामा आयोजित पत्रकार भेटघाटमा बोल्दै शुक्रबार गृहमन्त्री गौतमले संविधानको खाका पूर्ण रुपमा तयार भइसकेको जानकारी दिनुभयो ।
अन्तिम बेलासम्म पनि विपक्षमा रहेका दलहरुलाई सहमतिमा ल्याउने कोसिस जारी रहने बताउँदै उहाँले सहमति बन्न नसके उनीहरुको मतलाई सुरक्षित राख्दै प्रक्रियामा गएर भएपनि संविधान जारी गरिने दृढता व्यक्त गर्नुभयो ।
संविधानसभामा मत विभाजन भए पनि दुई तिहाइभन्दा बढी सभासद्को सङ्ख्या माघ ८ भित्रै संविधान जारी गर्ने पक्षमा रहेको उहाँको भनाइ थियो ।
सञ्चारकर्मीको जिज्ञासामा उहाँले सकभर विवादका विषयलाई थाती राखेर भएपनि सहमतिद्वारा नै संविधान जारी गर्न जोड दिइने बताउनुभयो ।
यसैबीच, गृहमन्त्री गौतमले शुक्रबार जिल्ला प्रहरी कार्यालय बर्दियाको नवनिर्मित भवन पनि उद्घाटन गर्नुभएको छ । उद्घाटनको क्रममा उहाँले सेवाग्राहीलाई भरपर्दो र विश्वसनीय ढङ्गबाट सेवा दिन मुस्कानसहितको सेवा सुरु गरिएको बताउनुभयो ।















प्रतिक्रिया