सिरहा, १७ पुस । सिरहाको लहान नगरपालिका–१ स्थित सहिद चोकमा नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच बुधबार राती झडप भएको छ ।
झडपमा दुईजना घाइते भएको बताइएको छ । दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार झडपका क्रममा लहान नगरपालिका–१ का प्रमोद यादव र सोठिआइन गाविसका सुमेश यादव घाइते भएका हुन् ।
स्रोतका अनुसार यादवद्वय एमालेका कार्यकर्ता हुन् । उनीहरुको उपचार लहान अस्पतालमा भइरहेको छ ।
झडपमा उत्रने काँग्रेसका दुई कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ । लहान नगरपालिका–१ का पप्पु यादव र इटहर्वा गाविस–४ का रुपेश यादव पक्राउ परेका हुन् ।
लहान–१ स्थित होटल पाराडाइजमा एमालेका नेता तथा कार्यकर्ता बसेका बेला पक्राउ परेका यादवद्वयले ढुङ्गा हानेपछि विवाद भएको थियो ।
‘पहिलोपटक सामान्य विवाद भएपछि हामीले गएर साम्य पा¥यौँ,’ प्रहरी नायब उपरीक्षक फुयाँलले भन्नुभयो –‘केही बेरमै पुनः दुवै पक्ष झडप उत्रियो । त्यसपछि पुनः गएर झडप गर्ने दुईजनालाई पक्राउ गरेका छौँ ।’ पक्राउ परेकाहरुमाथि आवश्यक कारबाही गर्ने उहाँले बताउनुभयो ।
झडपपछि रातभर त्यहाँ नेपाल र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति थियो । झडप पुनः हुन सक्ने सम्भावना रहेका कारण प्रहरीले नै राति पसलहरु बन्द गराएर व्यापारीलगायतका मानिसलाई घर गइहाल्न आग्रह गरेको थियो ।















प्रतिक्रिया