सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

कहिल्यै विद्युत्भार कटौती हुँदैन पर्यटकीय बजार नाम्चेमा

दैनिक नेपाल २०७१ पुष १७ गते ९:०१

Nepal, 2005, Namche bazar with Ama Dablamसोलुखुम्बु, १७ पुस । हिउँदमा सुक्खा र चिसो बढ्दै गर्दा देशभर विद्युत्भार कटौतीको समय थपिँदै गए पनि सोलुखुम्बुको पर्यटकीय बजार नाम्चे, खुम्जुङ भ्याली, स्याङ्बोचेलगायतका स्थानमा कहिल्यै विद्युत्भार कटौती हुँदैन ।

तेह्र वर्षअघि खुम्बु विद्युत् कम्पनीबाट सेवा सुरु भएदेखि हालसम्म त्यहाँ विद्युत्भार कटौतीको समस्या छैन् । पर्यटकको बाक्लो चाप भएको समयमा हिटरलगायतका विद्युतीय उपकरण प्रयोग गर्दा पनि त्यहाँ विद्युत्को समस्या हुँदैन ।

आठ सय ५० भन्दा बढी घरपरिवारका लागि सेवा दिइरहेको सो विद्युत्बाट पर्यटकीय क्षेत्रमा निकै सहज भएको छ । काठमाडाँैबाट कामको सिलसिलामा चार वर्षअघि नाम्चे आएका राजेन्द्र देसारलाई यहाँको प्राकृतिक मनोरमतासँगै २४ सैँ घन्टा उज्यालो दिने बिजुलीले पनि लोभ्याएको छ ।

राजधानी काठमाडाँै पुग्नासाथ विद्युत्भार कटौतीको मार सहनुपर्ने देसारले नाम्चेको विद्यु्तबाट निकै खुसी भएको बताउनुभयो ।

तेह्र वर्षअगाडि अस्ट्रियाको सहयोगमा करिब रु १८ करोड लगानी गरी निर्माण गरिएको खुम्बु बिजुली कम्पनीले अहिले नाम्चे तथा खुम्जुङको स्याङ्बोचे, खुन्दे, खुम्जुङ भ्यालीलगायतका बासिन्दालाई विद्युत् सेवा उपलब्ध गराइरहेको छ ।

कहिल्यै अवरुद्ध नहुने विद्युत्का कारण व्यवसायमा सहजता भएको खुम्बु कम्युनिकेसन साइबरका युवास तामाङ बताउनुहुन्छ । गएको जेठदेखि भदौसम्म मर्मतका लागि विद्युत् बन्द गरिएको थियो अन्यथा सो कम्पनी सुरु भएपछि कुनै पनि दिन विद्युत् अवरुद्ध नभएको र विद्युत्भार कटौती गर्न नपर्ने नाम्चेका ग्याल्जेन शेर्पाको भनाइ छ ।

अहिले ६३० किलोवाट विद्युत् उत्पादन भइरहेको खुम्बु विद्युत् कम्पनीबाट ८५० भन्दा बढी घुरधुरीले सेवा लिइरहेका छन् । त्यहाँको उच्च गुणस्तरीय विद्युत्का कारण व्यवसायीलाई निकै फाइदा पुगेको कपडा व्यवसायी बम्बे दर्जीले बताउनुभयो ।

“तेह्र वर्षअघि सेवा सुरु गर्दा ६३० किलोवाट क्षमताको रहेको र उपकरणको लामो समयसम्म प्रयोगका कारण ५३० किलोवाट क्षमता उत्पादन हुन थालेपछि गएको जेठमा सेवा बन्द गरी मर्मत गरेर पुनः ६३० किलोवाट क्षमता उत्पादन गर्न थालिएको” कम्पनीका लेखा अधिकृत पेम्बा शेर्पाले जानकारी दिनुभयो । नाम्चेका व्यवसायी बिबी खालिङ भन्नुहुन्छ “स्रोत साधनको उपयोग गरेमा फाइदा हुँदोरहेछ ।”

विद्युत् उत्पादनका लागि अस्ट्रियाले सहयोग गरेको हो । तर त्यसको व्यवस्थापनमा नाम्चे र खुम्जुङका बासिन्दाको ठूलो मिहिनेत छ । खुम्बु बिजुली कम्पनीका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा भन्नुहुन्छ “सही व्यवस्थापनकै कारण विद्युत्भार कटौतीको समस्या नभएको हो ।” सगरमाथाको प्रवेशद्वारका रुपमा विश्वमा परिचित नाम्चे बजारको साख खुम्बु विद्युत् कम्पनीले बढाइदिएको छ ।

नियमित विद्युत्का कारण यहाँको पर्यटन व्यवसाय फस्टाउन सहयोग पुगेको व्यवसायी बताउँछन् ।

 

प्रतिक्रिया
सम्बन्धित