काठमाडौँ, १६ पुस । कार्य व्यवस्था परामर्श समितिको बैठक स्थगित भएको छ ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बुधबारका लागि बोलाएको समितिको बैठकमा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष प्रचण्डको अनुपस्थितिका कारण स्थगित भएको हो ।
ओली पार्टी कामको सिलसिलामा पूर्व रहेकाले बैठकमा उपस्थित नहुनु भएको हो भने प्रचण्ड महत्वपूर्ण बैठकमा सहभागी भएको भन्दै अनुपस्थिति हुनुभएको हो ।
ठुला दलका शीर्ष नेताबीच असमझदारी कायमै रहेका कारण संविधान निर्माण प्रक्रियाका बारेमा ठोस छलफल गर्न नेम्वाङले बुधबार उक्त समितिको बैठक बोलाउनु भएको थियो ।
दलहरुले माघ ८ मा संविधान जारी गर्ने भने पनि सयम घर्कीदैँ गएकाले उक्त मितिमा संविधान जारी नहुने संकेत देखिएका बेला नेम्वाङले कुन प्रक्रिया अपनाउने भन्ने बारे निष्कर्षमा पुग्न बैठक बोलाउनु भएको जानकारी दिनुभएको थियो । पछिल्लो समय ठुला दलका शीर्ष नेताहरुसँग समेत रुष्ट बन्दै आउनु भएका नेम्वाङले अग्रसरता लिनु भएको हो ।
उहाँले दलहरुबीच अन्योलता कायमै रहे आफुले संविधानसभाको नियमावली, संविधान र स्थापित अभ्यासका आधारमा संविधान निर्माणको प्रक्रिया अघि बढाउने चेतावनी दिदैँ आउनु भएको छ ।
अहिले पनि दलहरुबीच संविधानका मूल विषय संघीयता, शासककीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सम्बन्धमा फरक–फरक धारणा रहँदै आएको छ । जसका कारण संविधान निर्माण प्रक्रिया नै अन्योलमा पर्दै आएको छ ।















प्रतिक्रिया