प्युठान, १५ पुस । यस जिल्लाका एचआइभी सङ्क्रमित १३८ जनामध्ये १४ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला
मा अन्य निकायबाट यसको तथ्याङ्क राख्न सुरु भएपछि सङ्क्रमितमध्ये १४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
मृतकमध्ये वैदेशिक रोजगारबाट फर्किएका धेरै भएको बताइन्छ । सङ्क्रमित व्यक्तिको प्रत्यक्ष असर परिवारका श्रीमती र छोराछोरीलाई धेरै पर्ने गरेको कार्यालयका सूचना अधिकृत दलबहादुर केसीले बताउनुभयो ।
“विदेशबाट आएका श्रीमान्सँग यौन र एचआइभीको विषयमा श्रीमतीहरुले खुलेर कुरा गर्न सक्दैनन्,” स्वास्थ्य, सूचना तथा सञ्चारका मुख्य सम्पर्क व्यक्तिसमेत रहनुभएका केसीले भन्नुभयो, “यसको रोकथामका लागि चुनौती थपिँदै गएको छ ।” महिला सशक्तीकरण, जनचेतना र शिक्षामा विकास नहुँदासम्म जिल्लाको समस्या समाधान गर्न कठिनाइ हुने गरेको कार्यालयले जनाएको छ ।
सङ्क्रमितमध्ये केहीको मृत्यु भएपछि जिल्लामा अहिले १२४ जना एचआइभी सङ्क्रमित रहेको रेडक्रस जिल्ला शाखाका महामन्त्री दामोदर शर्माले जानकारी दिनुभयो ।
जिल्लामा सङ्क्रमितमध्ये नौजना बालबालिका रहेका छन् । समाजमा अझैसम्म पनि सङ्क्रमितलाई खुल्नका लागि समस्या रहेको भन्दै मन्त्री शर्माले जिल्लामा सङ्क्रमित बालबालिकाको समस्या अरुको तुलनामा थप जोखिमपूर्ण रहेको जानकारी दिनुभयो ।
सङ्क्रमित प्युठान नगरपालिका विजुवारकी कमला नेपालीले श्रीमान्को दोषलाई पनि महिलाले गर्दा भएको भन्दै उल्टो आरोप लगाउँदा आफूहरुको खुल्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
नेपालमा अहिले करिब ४० हजारजनामा एचआइभी सङ्क्रमण रहेको राष्ट्रिय एचआइभी÷एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याङ्क छ । तीमध्ये करिब २५ हजार सङ्क्रमित केन्द्रको नियमित सम्पर्कमा रहेको जनाइएको छ । केन्द्रसँग सम्पर्कमा आउने सङ्क्रमितको सङ्ख्या गएको वर्षभन्दा कम छ । उमेर समूहमा सबैभन्दा बढी १५ देखि ४९ वर्षका सङ्क्रमित बढी अर्थात् ३४ हजार भएको तथ्याङ्क छ । रासस















प्रतिक्रिया