१ कार्तिक २०८३, आइतबार

अदालतका सेवाहरू अब इन्टरनेट मार्फतः प्रधान न्यायाधीश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramkumar-prasad-shahकपिलवस्तु, १३ पुस । सर्वोच्च अदालतका प्रधान न्यायाधीश रामकुमारप्रसाद साहले सर्वोच्च अदालतमा खाली रहेका न्यायाधीश पदको चाँडै पूर्तिका लागि प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।

समयमै न्यायाधीशको पदपूर्ति नहुँदा फैसलामा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले पदपूर्तिका लागि प्रक्रिया थालिएको उल्लेख गर्नुभयो ।

लुम्बिनी अञ्चलमा रहेका अदालतहरूको अवस्था बुझ्ने क्रममा तौलिहवास्थित कपिलवस्तु नमुना अदालतको निरीक्षणपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो कुरा बताउनुभएको हो । ‘न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले निर्णय गरिसकेको छ, अब चाँडै नै नियुक्ति प्रक्रिया अघि बढ्छ’, उहाँले भन्नुभयो ।

सर्वोच्चमा अहिले १२ जनामात्र स्थायी न्यायाधीश रहेका छन् । जब की १५ स्थायी र १० अस्थायी न्यायाधीश गरी सर्वोच्चमा २५ जनासम्म न्यायाधीश नियुक्त गर्न पाउने प्रावधान छ ।

न्याय सेवालाई छिटो छरितो गर्नका लागि आफू लुम्बिनी अञ्चलका जिल्ला अदालतको निरीक्षण र अनुगमनमा हिँडेको जानकारी दिँदै उहाँले जिल्ला अदालतमा तत्कालै सहायता कक्ष (हेल्प डेस्क) स्थापनाका लागि निर्देशन दिएको बताउनुभयो ।

‘सेवाग्राहीलाई सजिलोका लागि तत्कालै हेल्प डेस्क स्थापना गर्न निर्देशन दिएको छ’उहाँले भन्नुभयो, ‘हेल्प डेस्कले सेवाको प्रभावकारीमा वृद्धि हुन्छ ।’ मुद्दाको प्रवाहलाई मध्यनजर गर्दै अदालतका सेवाहरू इन्टरनेट मार्फतसमेत उपलब्ध गराउने तयारी भएको उहाँले बताउनुभयो ।