काठमाडौं, १३ पुस । अर्थमन्त्री डा. रामशरण महतले तोकिएकै मिति माघ ८ मा संविधान जारी गर्न असम्भव रहेको दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री महतले संविधान जारी गर्ने भनेर तोकिएको मितिसम्ममा संविधानका अन्र्तवस्तुमा सहमति कायम गर्न सकेपनि ठूलो उपलब्धि हुने भन्दै अब पनि माघ ८ मै संविधान आउँछ भनेर जनतालाई ढाँट्न नहुने स्पष्ट पारे ।
साक्षात्कारमा मन्त्री महतले विवादित विषयमा सहमित कायम गर्न भन्दै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले धेरै समय व्यतित गरेको भन्दै अब सहमित हुन सके तत्काल सहमति कायम गरिनुपर्ने नभए विवादित विषयलाई थाँती राखेर भएपनि संविधान जारी गर्ने त्यो पनि नभए प्रक्रियामा जानुको विकल्पन भएको स्पष्ट पारे ।
मन्त्री महतले संविधान घोषणा गर्न समय लाग्ने भएको भन्दै संविधान जारी गर्ने निर्धारित मितिसम्म विवादित विषयको टुँगो लगाउन सक्नु नै अहिलेको अवस्थामा ठूलो विजय हुने समेत जिकिर गरे ।
पत्रकाहरुको संघीयता थाँती राखेरै संविधान जारी गर्ने हो भन्ने जिज्ञासामा उनले भने– ‘संघीयता थातीँ राख्ने भन्ने कुरा होइन, तर प्रदेशको नामांकन र सिमांकनको विवाद भने प्रादेशिक सभालाई टुँग्याउन दिनुपर्छ ।’
हिमाल, पहाड र तराईबीच अन्र्तसम्बन्ध भएको उल्लेख गर्दै आर्थिक–सामाजिक अन्र्तसम्बन्धलाई अलग राखेर संघीयतामा जानै नसकिने मन्त्री महतको दाबी छ । महतले संघीयतमा समावेशी झल्किनुपर्ने भन्दै भौगोलिक तथा जातीय समावेशीलाई पनि ख्याल गर्नुपर्ने अडान दोहोर्याए । उनले भने – संघीयतामा जाँदा मुलुकले धेरै प्रदेश थेक्ने सक्दैन, त्यसैले पहाड र मधेशलाई अल्ग्याउन सकिँदैन ।’
अर्को प्रसंगमा मन्त्री महतले तनहुँ जलविद्युत आयोजनाको काम तत्काल सञ्चालन गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।
















प्रतिक्रिया