१ कार्तिक २०८३, आइतबार

२०७३ वैशाख १ गते काठमाडौँका धारामा मेलम्चीको पानी आउला !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

melamchi-gyalthum-aditमेलम्ची, १३ पुस । मेलम्चीको पानी काठमाडौँमा २०७३ वैशाख १ गते ल्याउने घोषणा गरिए पनि योजनाअनुसारको कार्य सम्पन्न हुन नसक्दा ढिलाइ हुने सम्भावना देखिएको छ ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार मुख्य सुरुङमार्गको २० किलोमिटरमध्ये जम्मा तीन किलोमिटर खनिएको छ भने १७ किलोमिटर बाँकी छ ।

यसबाहेक सहायक सुरुङमार्ग छ किलोमिटर खनिएको छ । हालसम्म जम्मा १७ प्रतिशत काम सम्पन्न भएको छ ।

समयका हिसाबले ४० प्रतिशत समय बितिसकेको छ भने ६० प्रतिशत समय बाँकी छ तर गर्नुपर्ने काम भने ८३ प्रतिशत बाँकि रहेको आयोजनाले जनाएको छ ।

जम्मा सुरुङमार्गको लम्बाई भने २६ दशमलव ५ किमि रहेको छ ।

मेलम्ची खानेपानी विकास समितिका निर्देशक घनश्याम भट्टराईले तोकिएको समयमा कार्य सम्पन्न गर्न कुनै कसुर बाँकी नराखिएको बताउनुभयो ।

उहाँ भन्नु हुन्छ, ‘समयमै सुरुङ मार्गको काम सकिन्छ भन्नेमा आशावादी छौँ । कोसिस गरिरहेका छौँ । कामको गति बढेकाले अझै पनि सम्भावना रहेको छ ।’

दैनिक ४० मिटरको लक्ष्यले सुरुङ खन्दा पनि समयमा सकिन मुस्किल पर्ने देखिन्छ तर हाल दैनिक झन्डै २० मिटरका दरले खनिएको छ ।

मेलम्ची सुरुङ निर्माण कार्यको अनुगमन गर्न पुग्नुभएका व्यवस्थापिका संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले जुन मात्रामा प्रगति भएको छ भनिएको थियो, त्यसो नभएको बताउनुभयो ।