१ कार्तिक २०८३, आइतबार

कतारमा आज ‘बहादुर बहिनी’ प्रदर्शन गरिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

The-Brave-Sister-Ganesh-Panday-Documentary

दोहा, ११ पुस । आफ्ना दाजुभाइको हत्यारालाई कारबाही गर्न माग गर्दै संघर्षरत सावित्री श्रेष्ठको पीडामा केन्द्रीत डकुमेन्ट्री “बहादुर बहिनी” आज कतारमा प्रदर्शन गरिँदैछ ।

प्रवासी नेपाली मञ्च कतारको आयोजनामा आज साँझ ७ बजे दोहाको नेशनलस्थित होटल गोल्डेन फर्कमा प्रवासी नेपालीहरुलाई यो डकुमेन्ट्री प्रदर्शन गर्न लागिएको मञ्चका अध्यक्ष रामहरि गैह्रेले बताउनुभयो । उहाँले डकुमेन्ट्री प्रदर्शनीमा उपस्थितिका लागि कतारबासी नेपालीहरुलाई आमन्त्रण समेत गर्नुभएको छ ।

गणेश—उज्जन (भुवन) स्मृति प्रतिष्ठानले निर्माण गरेको यस डकुमेन्ट्रीको निर्देशन पत्रकार गणेश पाण्डेले गरेका हुन् । ४० मिनेटको ‘बहादुर बहिनी’मा अन्तरजातीय विहेकै कारण भाई उज्जनकुमार श्रेष्ठलाई गुमाएपछि परिवारले गरेको संघर्षलाई पर्दामा उतारिएको छ ।

२०५५ साल असार १० गते अन्तरजातीय विहे गरेकै कारण उज्जनको हत्या भएको थियो । भाइका हत्यारालाई कारबाही गर्न जाहेरी दिएका माइला दाइ गणेशकुमार श्रेष्ठलाई पनि २०५९ मंसिर ८ गते छोरी रचनाकै अगाडि गोली हानी मारिए । बाबुको विभत्स हत्याले छोरी रचनाले आफूलाई सम्हाल्न नसकी आत्महत्या गरिन् । एउटा घटनाले परिवारमा तीन जनाको ज्यान गएपछि सावित्री श्रेष्ठले गरेका संघर्ष, मिडिया र अधिकारकर्मीको संघर्ष, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका शरण, काठमाडौंको शरणार्थी जीवन, न्यायको लडाईंदेखि कैदीदेखि कन्ट्याक्ट किलरसम्मका तारन्तारको धम्की, गल्ती छोप्न माओवादीले गरेको झुट, प्रलोभन, धम्की सनसनीपूर्ण विषयलाई समेटिएको छ । “नेपालमा आफूले गरेको ज्यादतीलाई सत्ता वा शक्तिमा बस्नेहरूले पदमा हुँदा गरेको स्वाभाविक कामका रूपमा बुझ्ने प्रचलन स्थापित भएको छ । “बहादुर बहिनी” त्यसको एउटा नमुना हो ।” निर्देशक पाण्डेले भन्नुभयो ।