काठमाडौं, १० पुस । नेपाल संस्कृत विश्व विद्यालयअन्तर्गतको सबैभन्दा ठूलो र धेरै विद्यार्थी अध्ययन गर्ने वाल्मीकि–विद्यापीठ जीर्ण बन्दै गएको छ ।
२०३० देखि वाल्मीकि–विद्यापीठ रहँदै आएको प्रदर्शनी मार्गस्थित हालको भवन पुरानो भएसँगै मर्मत सम्भार हुन नसक्दा जीर्ण बन्दै गएको हो ।
विद्यापीठ पुरानो भएपछि टायलको छाना चुहिँदा, शौचालय तथा कक्षाकोठामा झ्याल ढोका भत्किँदा समस्या देखिएको छ । भवनको पर्खालमा लेउ पलाएको छ भने वरपीपलका बिरुवा र झार पलाएर भवन कुरुप बन्दै गएको छ ।
विद्यापीठको भवनलाई रङरोगन गर्दै पुनःसंरचना गर्नुपर्ने र पुस्तकालयलाई व्यवस्थित बनाउनुपर्नेलगायतका माग गर्दै विभिन्न विद्यार्थी सङ्गठनले आलोपालो प्रशासन शाखामा तालाबन्दी गर्दासमेत व्यवस्थापनले कुनै चासो नदेखाएको भन्दै नेपाल विद्यार्थी सङ्घ नेपाल संस्कृत विद्याविद्यालयका अध्यक्ष वामदेव अधिकारीले गुनासो गर्नुभयो ।
विद्यापीठमा विद्यार्थी सङ्घ सङ्गठनको नाममा लिइएको कक्षाकोठा तत्काल खाली गराई सबै विषय अध्ययन गर्न कक्षा कोठाको तुरुन्त व्यवस्था गरी पठनपाठन नियमित र व्यवस्थित गर्नुपर्ने माग गर्दै विद्यार्थी सङ्गठनले मङ्सिर २६ गतेदेखि प्रशासन बन्द गर्दै आएका छन् ।
पछिल्लोपटक विद्यापीठमा शैक्षिक एवम् प्रशासनिक अवस्था खस्किँदै र बिग्रँदै गएको अध्यक्ष अधिकारीको भनाइ छ ।
तर विद्यापीठका प्राचार्य डा लालामणि पाण्डेयले विद्यापीठको भौतिक संरचना जीर्ण बन्दै गए पनि पठनपाठनमा भने कुनै कमी नआएको दाबी गर्नुभयो ।
काठमाडौं उपत्यकामा चिरकालदेखि चल्दै आएको संस्कृत अध्ययन अध्यापन परम्पराकै विकसित रूपमा उच्च शिक्षालाई सही ढङ्गबाट व्यवस्थित गर्न २००९ सालमा स्थापना गरिएको तत्कालीन राजकीय संस्कृत विश्वविद्यालयलाई २०२४ सालमा वाल्मीकि संस्कृत महाविद्यालयका रूपमा विकसित हुँदै २०३० सालमा हालको वाल्मीकि–विद्यापीठ राखिएको हो । विद्यापीठमा अहिले करिब ७०० जना विद्यार्थी रहेको प्राचार्य पाण्डेयले जानकारी दिनुभयो ।
हाल सो विद्यापीठ २०४३ सालमा स्थापना भएको संस्कृत विश्वविद्यालयका १४ वटा आङ्गिक विद्यापीठमा सबैभन्दा विशिष्ठ विद्यापीठका रूपमा मानिन्छ । वाल्मीकि विद्यापीठमा हाल प्रमाणपत्र तहदेखि आचार्यतहसम्म प्रचलित विभिन्न शास्त्रीय विषय र कतिपय आधुनिक विषयको पनि पठनपाठन गरिन्छ ।















प्रतिक्रिया