१ कार्तिक २०८३, आइतबार

नेपाल जेसिसलाई महाधिवेशनको रन्को

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jycees

बनेपा, १० पुस । काभ्रेपलाञ्चोकको बनेपामा हुन लागेको नेपाल जेसिसको राष्ट्रिय महाधिवेशनका लागि विभिन्न जिल्लाबाट युवा आउने क्रम सुरु भएको छ ।

महाधिवेशनमा विभिन्न पदका आकाङ्क्षीहरूका लागि तीन दिनदेखि उम्मेदवार तालिमसमेत सञ्चालन भएको नेपाल जेसिसको सचिवालयले जनाएको छ ।

जेसिसमा तालिम नलिएका उम्मेदवार बन्न नपाउने प्रावधानअनुसार एउटा शाखाबाट कम्तीमा दुई जनालेमात्रै उम्मेदवार बन्न पाउने प्रावधान रहेको काभ्रे जेसिसका प्रेस संयोजक नगेन्द्र अधिकारीले जानकारी दिनुभयो । सो तालिममा ४५ जना जेसिसका युवा सहभागी छन् ।

एक सय ३८ शाखाबाट दुई हजार ५०० जना युवाको सहभागिता रहने सो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको काभ्रे जेसिसका राम जोशीले जानकारी दिनुभयो । पुस ११ देखि १३ गतेसम्म सञ्चालन हुने सो महाधिवेशनको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनलाई सूचना प्रविधि मैत्री बनाउने र डिजिटल प्रविधिमा नै सञ्चालन गरिने प्रविधि संयोजक शेखर दुलालले बताउनुभयो । उहाँका अनुसार महाधिवेशनमा प्रवेशका लागि बार कोड, फ्रि वाइफाइ, सूचना प्रविधिबारेको कार्यशाला, इलेक्ट्रोनिक भोटिङ हुनेछन् ।

महाधिवेशनकै अवधिमा देशभरबाट आउने प्रतिनिधिका लागि जिल्लाको नमोबुद्ध, पलाञ्चोक भगवती, दोलालघाट, धुलिखेल साँगाको महादेव, नालाको भगवती मन्दिर, पनौतीको त्रिवेणी घाट, रेशम खेती, नेपालको तेस्रो जलविद्युत् केन्द्र पनौती विद्युत् घरलगायतका धार्मिक स्थलको अवलोकन गराइने जनाइएको छ ।