बागलुङ, १० पुस । बागलुङ नगरपालिका–२ बस्ने कला शर्माले जन्म दिएको तीन हप्ता बितिसक्दा पनि आफ्नो शिशुलाई विसिजी खोप लगाउन पाउनुभएको छैन ।
जन्मनेबित्तिकै लगाउनुपर्ने खोपका लागि तीनपटक धवलागिरी अञ्चल अस्पताल धाउँदा पनि उहाँ त्यत्तिकै फर्कनुप¥यो । क्षयरोगविरुद्ध शिशुलाई दिइने विसिजी खोपको अभावले शर्माजस्तै धेरै अभिभावकले सास्ती खेप्नुपरेको छ ।
सोमबारमात्रै दर्जनौँ शिशु खोप नपाएर फर्कनुप¥यो । हप्तौँदेखि विसिजी खोप सकिएको अञ्चल अस्पतालले जनाएको छ ।
विसिजीसँगै शिशु जन्मिएको नौ महिना र १५ महिनामा गरी लगाउनुपर्ने दादुरा–रुबेलाविरुद्धको (एमआर) खोपको पनि अभाव छ ।
दुवै खोप सेवा उपलब्ध नभएपछि सर्वसाधारण मर्कामा छन् । माथिबाटै खोप नआएकाले दिन नसकिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले बताउनुभयो । “हामीलाई उपलब्ध गराउने जिल्ला स्वास्थ्य कार्यालयले हो, केन्द्रमै अभाव भएकाले पनि उपलब्ध हुन नसकेको हो”, निरीक्षक खनालले भन्नुभयो, “वर्षदिनभित्रै पूरा गर्नुपर्ने खोप भए पनि समयमै नलगाउँदा केही प्रभाव भने पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।
विशेषगरी शिशु जन्मनेबित्तिकै लगाउनुपर्ने विसिजी खोप हप्तौँसम्म पनि लगाउन नपाउँदा अभिभावक चिन्तित छन् ।
“खोप तालिकामा जन्मनेबित्तिकै लगाउनुपर्ने भनिएको छ, तर जन्मेको तीन हप्ता वित्दा पनि खोप लगाउन पाइएन”, कला शर्माले भन्नुभयो, “बच्चाको स्वास्थ्यमा केही असर पर्छ कि भन्ने चिन्ता छ, तर स्वास्थ्यकर्मीले केही ढिलो भएर फरक नपर्ने बताउनुभएको छ ।”
अञ्चल अस्पतालमा मात्रै नभएर ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि खोप अभाव हुन थालेकोे छ । खोप सेवा उपलब्ध हुन नसकेकाबारे जानकारी नहुँदासमेत सर्वसाधारण मर्कामा परेका छन् ।















प्रतिक्रिया