१ कार्तिक २०८३, आइतबार

विद्यार्थी आकर्षित गर्न शुल्कमा भारी कटौती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १० पुस । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले विद्यार्थी आकर्षित गर्न शुल्कमा भारी कटौती गरेको छ ।

स्थापना कालदेखि नै महँगो शिक्षण शुल्क भएको जनगुनासो खेप्दै आएको विश्वविद्यालयले विद्यार्थी कम भएपछि आकर्षित गर्न शुल्कमा भारी कटौती गरेको हो ।

विश्वविद्यालयले शुल्क पुनरावलोकन गर्नका लागि गठन गरेको कार्यदलको सुझावका आधारमा कार्यकारिणी समितिको बैठकले शुल्कमा भारी कटौती गरेको छ । यद्यपि यसअघि विभिन्न विद्यार्थी सङ्गठनले महँगो शुल्कका विरुद्धमा तालाबन्दीदेखि आन्दोलनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।

विश्वविद्यालयका रजिष्टार डा महेन्द्र मल्लले शुल्क महँगो भएको जनगुनासो तथा विद्यार्थीको मागलाई मध्यनजर गरी शुल्क घटाएको उल्लेख गर्नु भयो ।

उहाँका अनुसार विश्वविद्यालयले विभिन्न पाठ्यक्रममा ३० देखि ९० प्रतिशतको शुल्क कटौती गरेको छ, घटाइएको शुल्क चालु शैक्षिकसत्रका लागि लागू हुनेछ । विश्वविद्यालयले प्रतिवर्ष आवश्यकता हेरेर शुल्कमा पुनःपरिमार्जन गर्न सक्ने व्यवस्था सुरक्षित राखेको विश्वविद्यालयका उपकुलपति कालीप्रसाद पाण्डेले बताउनु भयो ।

उहाँले प्रत्येक पाठ्यक्रममा प्रतिवर्ष १० प्रतिशतका दरले शुल्क वृद्धि गरिनेसमेत जिकिर गर्नुभयो ।

‘मध्यपश्चिमका १५ वटै जिल्लामा विश्वविद्यालय आफ्नो विस्तारको अभियानमा रहेको छ’, उहाँले भन्नुभयो, ‘अहिले बाँके, बर्दिया, दैलेख, जाजरकोट, रुकुम, मुगुका एक÷एक तथा सुर्खेतका दुईवटा क्याम्पसलाई विश्वविद्यालयले आङ्गिक मान्यता प्रदान गरेको छ ।’

विश्वविद्यालयले इन्जिनियरिङ सङ्कायको सिभिलमा शुल्क पहिले रु छ लाख २४ हजार निर्धारण गरेकामा अहिले घटाएर रु तीन लाख २५ हजार निर्धारण गरेको छ । बिबिएको पूरा पाठ्यक्रम शुल्क पहिले रु दुई लाख ६५ हजार १७० रहेकामा अहिले रु एक लाख ८८ हजार १७० निर्धारण गरिएको छ ।

एमबिएको पहिले रु एक लाख ७२ हजार ५७० रहेकामा हाल घटाएर रु एक लाख २८ हजार ५७० तय गरिएको छ ।

यस्तै बिबिएसतर्फ पहिले रु ३७ हजार ९७० शुल्क रहेकामा हाल घटाएर रु २९ हजार ९७० निर्धारण गरिएको छ । एमबिएसको शुल्क पहिले रु ३१ हजार ५७० रहेकामा हाल रु २५ हजार ५७० तय गरिएको छ ।

त्यस्तै बिएसडब्लुको पूरा पाठ्यक्रम शुल्क पहिले रु एक लाख ७२ हजार ८७० रहेकामा अहिले घटाएर रु ९७ हजार ३७० निर्धारण गरिएको छ । एमएसडब्लुको शुल्क पहिले रु एक लाख २१ हजार ५७० रहेकामा अहिले रु ७१ हजार ५७० तय गरिएको छ ।

यस्तै अन्य स्नातकस्तरका आइआर, जिएमसीलगायतको शुल्क पहिले रु एक लाख २३ हजार २७० रहेकामा अहिले रु ३३ हजार ६७० निर्धारण गरिएको छ ।

स्नातकोत्तरस्तरका आइआर, जिएमसीलगायतका पाठ्यक्रमको शुल्क पहिले रु ९६ हजार ३७० रहेकामा अहिले घटाएर रु ३० हजार ३७० तय गरिएको छ ।

यसैगरी द्वन्द्व तथा शान्ति अध्ययन स्नातकलगायतका कोर्षतर्फ रु ७१ हजार २७० राखिएको छ भने स्नातकोत्तरतर्फ रु ५८ हजार रु ३७० निर्धारण गरिएको छ । रासस