२९ आश्विन २०८३, बिहिबार

नेप्से पुनः ओरालोतिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-stockकाठमाडौँ, ५ पुस । गत साता दोहोरो अङ्कले बढेको नेप्सेमा यो साता पुनः ६ दशमलव १२ अङ्कले ओरालो लागेर अन्तिम दिन ९०३ दशमलव ८९ अङ्कमा पुगेको छ । लामो समयपछि गत साता नेप्सेमा सुधार आएको थियो ।

नेपाल स्टक एक्सचेन्जमा १ सय ६७ कम्पनीको नौ हजार ४ सय १९ कारोबारबाट रु एक अर्ब १४ करोड ३० लाख ३६ हजार बराबरका ३२ लाख २९ हजार ९ सय ६० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४२ दशमलव४९ प्रतिशत बढी हो ।

गत साता १ सय ६३ कम्पनीको कारोबार आठ हजार ३६ कारोबारबाट रु ८० करोड २१ लाख ९८ हजार बराबरका २२ लाख १७ हजार ९ सय ९० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यसैगरी समूहगत परिसूचकको उतारचढाबमा विकास बैंक, वित्त, होटल र उत्पादनमूलक समूहको परिसूचकमा सकारात्मक परिवर्तन आएको छ भने वाणिज्य बैंक, बिमा, जलविद्युत्, व्यापार र अन्य समूहको परिसूचकमा भने नकारात्मक रहेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १ दशमलव४९ अङ्कले घटेर १८६ दशमलव७३ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ लगानी वृद्धि योजना अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याका आधारमा मेगा बैंक अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यो साता नेपाल इन्भेस्टमेन्ट बैंकको रु सात लाख ५० हजार ऋणपत्र, कामना विकास बैंकको तीन लाख बोनस सेयर, नेपाल बङ्गलादेश बैंकको रु २० लाख नौ हजार ३ सय ९३ बोनस सेयर र काक्रेबिहार विकास बैंकको रु ४५ हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन् । रासस