काठमाडौँ, ५ पुुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले निर्धारित समयमा संविधान जारी गर्न तथा नयाँ संविधानमा हिन्दू राष्ट्र सुनिश्चित गर्न १० दिने मेची–महाकाली सङ्कल्प रथयात्रा चलाउने भएको छ ।
मेची–महाकाली–श्री पशुपतिनाथ हिन्दूराष्ट्र पुनःस्थापना सङ्कल्प रथयात्रा नाम दिइएको उक्त रथयात्रामार्फत नेपाललाई सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र कायम गर्न दबाब सिर्जना गर्ने जनाइएको छ ।
झापाबाट यही पुस ९ गतेबाट सुरु भई तराईका सबै र पहाडका आठसमेत ३० जिल्लाको यात्रा पार गरेर पुस १८ गते काठमाडौँको टुँडिखेलमा समापन हुने कार्यक्रम तय भएको सो पार्टीद्वारा आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
दशदिने उक्त रथयात्राले १९२९ किमिको दूरी पार गर्ने बताइएको छ । सो क्रममा १०८ वटा सभा हुने र त्यसलाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने सो अवसरमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष थापाले संविधान लेखन र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने दबाब दिने उद्देश्यले रथयात्रा गरिएकाले सबै पक्षको सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
संविधानसभाले विगतमा पारित गरेको जनतासँग प्रतिक्रिया लिने समयसँग तालमेल हुने गरी रथयात्रा तय गरिएको जानकारी दिँदै उहाँले तर ठूला दलहरुको व्यक्तिगत स्वार्थ र अकर्मण्यताले गर्दा जनताको राय सुझाव लिने काम अझै हुन नसकेको हो भन्नुभयो ।
एक प्रश्नको जवाफमा मुलुकका ९४ प्रतिशत जनताको आवाज उठाउनुलाई धार्मिक आडमा राजनीतिक गरेको भनेर आरोप लगाउनु कसैलाई पनि सुहाउँदो विषय नभएको उहाँले बताउनुभयो ।















प्रतिक्रिया