काठमाडौँ, ४ पुस । कामदार र व्यवस्थापनबीचको सम्बन्ध सौहार्द बनाउन ट्रेड युनियन र बैंक तथा वित्तीय संस्थाका व्यवस्थापनबीच निरन्तर समाजिक बहस गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले शुक्रबार आयोजना गरेको बैंकिङ क्षेत्रको स्थिर तथा दिगो विकासका लागि कामदारबीचको सहकार्य निर्माण विषयको छलफल कार्यक्रमका सहभागीहरूले गैरवित्तीय क्षेत्रबाट बैंकिङ चुनौती बढ्दै गएकाले कर्मचारी र व्यवस्थापनबीच सम्बन्ध सधार्नुपर्ने धारणा राखेका हुन् ।
अर्थमन्त्री डा रामशरण महतले उत्पादन र आम्दानीलाई बढाउँदै कर्मचारी तथा व्यवस्थापनबीचको सम्बन्ध प्रगाढ बनाउँदै लैजान रोजगारदाता र रोजगारी पाउनेहरूबीच निरन्तर छलफल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सबैको चाहना उन्नति र समृद्धि हो, सबै क्षेत्रमा शान्ति स्थापना गर्न छलफल र संवादलाई अघि बढाउनुपर्छ ।’
चाहना र व्यवहारबीच सन्तुलन कायम गर्न कानुनअनुसार आ–आफ्ना जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री डा महतले भन्नुभयो, ‘सरकारी कार्यालयमा हाजिर गरेर जागिर खाने, काम गर्न भत्ता चाहिन्छ भन्ने समय छैन । काम गर्ने संस्कृतिको विकास गर्नुपर्छ । त्यस अवस्थामा कर्मचारीले प्रोत्साहन पाउनुपर्छ ।’
उहाँले बैंकिङ क्षेत्रमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न निर्देशन पनि दिनुभयो ।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपालले सर्वसाधारण जनताको बचत सुरक्षाका लागि कर्मचारी तथा व्यवस्थापनबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेले बैंक तथा वित्तीय क्षेत्रले आफ्ना सेवालाई स्थानीयस्तरमा बढाउनुपर्नेमा जोड दिँदै नाफा आर्जन सँगसँगै सामाजिक उत्तरदायित्वलाई भुल्न नहुने बताउनुभयो ।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेलले बैंकका कर्मचारीबाटै बैंकिङ क्षेत्रमा चुनौती देखिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् विभिन्न संस्थाको ट्रेड युनियनका अगुवाहरूको सहभागिता थियो । रासस













प्रतिक्रिया