२९ आश्विन २०८३, बिहिबार

अष्ट्रेलियाको एक घरमा आठ बालबालिकाको शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिड्नी, ४ पुस । अष्ट्रेलियाको क्यारिन सहरको एक घरमा मृत अवस्थामा आठजना बालबालिकाको शव भेटिएको समाचार छ ।

शुक्रबार उक्त घरमा ती शव भेटिएको प्रहरीले जानकारी दिएको छ । हालैमात्र त्यहाँ केही व्यक्तिलाई छुरा धसेर मारिएको समाचार आएको केही दिनमै शुक्रबार यो समाचार सार्वजनिक भएको छ ।

अष्ट्रेलियाली प्रधानमन्त्री टोनी अबोटले यस घटनालाई दुःखद भन्नुभएको छ । उहाँले सो समाचारले आफू स्तब्ध बनेको धारणा सार्वजनिक गर्नुभएको छ ।

अष्ट्रेलियाको सिड्नीमा हालैमात्र अपहरणकारीहरुले अपहरण गरी राखेका केही व्यक्तिमध्ये दुईजनाको हत्या भएको थियो । सो समाचार विश्वव्यापी रुपमा नै फैलिएको थियो ।

ती बालबालिकाका सबैजना आमाबाबुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री अबोटले सो घटनालाई बोल्न नसकिने पीडाका रुपमा आफूले लिएको एक विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

अष्ट्रेलियाको उत्तरी सहर क्यारिनमा ती बालबिालकाको शव भेटिएका बारेमा प्रहरीले आज नै समाचार सार्वजनिक गरेपछि अष्ट्रेलियाभरि दुःख छाएको छ ।

मारिने बालबालिकामा १८ महिनाको शिशुदेखि १५ वर्षसम्मका रहेका समाचारमा जनाइएको छ । यस हत्याको विषयमा प्रहरीले अनुसन्धान थालेको भन्दै अहिले नै केही भन्न नसकिने बताएको छ ।

क्यारिन अष्ट्रेलियाको एक प्रसिद्ध पर्यटकीय सहर हो । करिब डेढ लाखमात्र जनसङ्ख्या भएको सो सहरमा विदेशी पर्यटकहरुका लागि महत्वपूर्ण गन्तव्यहरु रहेको बताइन्छ ।

एकदिनमात्र अघि अष्ट्रेलियाकै मेलबर्नका एक व्यक्तिलाई आफ्ना साना दुई छोरीको हत्याको अभियोगमा जेल चलान गरिएको थियो ।

अष्ट्रेलियामा पछिल्लो समयमा यसरी बालबालिकामाथि हुने यस्ता हिंसाका घटनामा वृद्धि भएको बताइन्छ । रासस/एएफपी