२९ आश्विन २०८३, बिहिबार

सौराहामा पुस ११ गतेदेखि हात्ती महोत्सव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सन्दिप भट्ट
चितवन, २ पुस । क्षेत्रीय होटल संघ नेपाल सौराहाको आयोजनामा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि पर्यटकीय नगरी सौराहामा पुसको ११ गतेदेखि हात्ती महोत्वस हुने भएको छ ।

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि बाघमारा सामुदायिक वनको चौरमा हात्ती महोत्सव हुने बुधबार सौराहामा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । ११ औँ हात्ती महोत्सवसम्म आइपुग्दा हात्ती महोत्सवमा धेरै परिवर्तन गरिएको आयोजकले जनाएको छ ।

क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष ज्ञानेन्द्रकुमार बिष्टले पत्रकार सम्मेलनमा महोत्सवलाई परिवर्तन गर्दै लगिएको बताउनुभयो । ‘हामी हात्ती महोत्सवको ११ औँ संस्करणसम्म आइपुग्दा महोत्सवलाई आकर्षक र रमाइलो बनाउन धेरै नै परिवर्तन गरेका छौँ,’ बिष्टले भन्नुभयो, ‘अहिलेको महोत्सवलाई सफा बनाउको लागि सहकारीबाट महोत्सव स्थल सरसफाइ गर्ने तथा घुम्ती शौचालयको पनि व्यवस्था गरेका छौँ ।’

पुसको ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने हात्ती महोत्सवको बारेमा प्रकाश पार्दै कार्यक्रम संयोजक सुमन घिमिरेले हात्ती पीकनिक, हात्ती दौड, हात्तीको छावाबीच फुटबल, टाँगा दौड प्रतियोगिता महोत्सवका विशेष आकर्षण भएको बताउनुभयो ।

महोत्सव अवधि भरी स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट विशेष साङ्गीतिक कार्यक्रम रहने घिमिरेले जानकारी दिनुभयो । महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नको लागि कार्यक्रम स्थल वरपर पर्यटन प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिने पनि घिमिरेले जानकारी दिनुभयो ।

महोत्सव अवधिभरी सौराहा क्षेत्रका होटलमा खाना तथा बस्नको लागि साविकको शुल्कमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ । पाँच दिनसम्म चल्ने महोत्सवको लागि ३७ लाख ६९ हजार छ सय ३० रुपैयाँ खर्च हुने अनुमान आयोजकको रहेको छ ।