काठमाडौँ, २ पुस । अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौं, अखिल पाँचौलगायतका विभिन्न विद्यार्थी संगठनहरुले संविधानसभा भवनमा निदाउँने, उँग्ने र संविधान निर्माणमा ढिलाई गर्ने सभासद्हरुकोअभिनय गर्दै व्याङ्ग्य जुलुस निकाल्ने भएका छन् । ‘सभासदहरुलाई झकझक्याउँन ब्युँझ, ढिला भो , संबिधान निर्माणका लागि ब्युँझ भन्दै सडकमा प्रदर्शन गर्ने निर्णय गरेका छौँ,’ अनेरास्ववियुका प्रचार विभाव प्रमुख अशेष घिमिरेले भन्नुभयो । संयुक्त बैठक बुधबार अनेरास्ववियुको केन्द्रीय कार्यालयमा बसेको हो ।
बैठकले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्यमा गिरावट आए पनि नेपालमा त्यसको मूल्य समायोजन नगरी महंगीलाई बढावा दिईरहेकोमा पनि विरोध गरेको छ । ‘तुरुन्त मट्टीतेल, डिजेल, पेट्रोल, खान पकाउने ग्यासको मूल्य समायोजन गरि यातायातको भाडा दर घटाउन आयल निगम र सरकारलाई हामी ध्यानाकर्षण गराउँने निर्णय गरेका छौँ,’ घिमिरेले भन्नुभयो । ती विद्यार्थी संगठनले बुधबार नै नेपाल आयल निगममा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
त्यसैगरी बैठकले बिहीबार देशभरीबाट तीन दिन लगाएर संविधान निर्माणमा दवाव दिने उदेश्यले संकलन गरिएको करिव दस लाख हस्ताक्षर सभामुखलाई सबै संगठनले बुझाउने निर्णय समेत गरेको छ ।
पुुुुस ३ गते सबै पेशागत संगठनहरु, आम नागरिक र युवा विद्यार्थी संगठनको उपस्थितिमा समयमै संबिधान जारी गराउन दवाव स्वरूप सार्वजनिक सडक बहस संचालन गर्ने, पुस ४ गते अविलम्ब स्ववियु निर्वाचनको मिति घोषणा गर्न र त्रिविले शुरुवात गरेको सेमेस्टर प्रणालीको स्तरोन्नतिका लागि त्रिविका पदाधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउने लगाएतका कार्यक्रम रहेको अनेरास्ववियुकै प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो ।
‘बैठकले पुजा बोहरा घटना तथा पाकिस्तानमा निहत्था विद्यार्थीमाथि गरिएको आतंककारी हमलाको बिरोध गरेको छ,’ लामिछानेले भन्नुभयो, ‘बोहोराको विषयमा सत्यतथ्य छानविन गर्न र बलात्कारीलाई कडा भन्दा कडा सजायको व्यवस्था हुने कानुन तर्जुमा गर्न राज्यको ध्यानाकर्षण गराउँने निर्णय भएको छ ।’















प्रतिक्रिया