मुस्ताङ, १ पुस । मुस्ताङमा सोमबार रातिदेखि फेरि हिमपात भएको छ । पानीसँगै भारी हिमपात भएपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।
मंगलबार बिहानसम्म मुस्ताङ सदरमुकाम जोमसोममा तीन फिट हिउँ परिसकेको छ । हिउँ पर्ने क्रम अझै रोकिएको छैन । पानीसँगै हिउँ परेपछि सोमबार राति ९ बजेदेखि यहाँको विद्युत् र टेलिफोन सेवा अवरुद्ध बनेको छ ।
सञ्चार सुविधा अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी जवान कृष्ण पराजुलीले जानकारी दिनुभयो ।
‘हामीलाई पनि सूचना आदानप्रदान गर्न समस्या भइरहेको छ’–प्रहरी जवान पराजुलीले भन्नुभयो–‘यहाँ मान्छे बाहिर हिँड्नसक्ने अवस्था छैन, जाडो एकदमै बढेको छ ।’मुस्ताङको सबै भू–भागमा भारी हिमपात भइरहेको बताइएको छ ।
उपल्लो मुस्ताङ–६ गाविसमा बढी हिउँ परेको अनुमान गरिएको छ । पटक–पटक हिउँ पर्दा यहाँका किसानसमेत मारमा परेका छन् । अन्नबाली लगाउने बेला हिउँ परेपछि उनीहरू चिन्तित बनेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस















प्रतिक्रिया