बेनी, २८ मंसिर । म्याग्दीका उच्च पहाडी क्षेत्रमा शनिबार साँझदेखि वर्षासँगै हिमपात भइरहेको छ ।
वर्षाका कारण अत्यधिक चिसोसँगै शनिबार साँझ ५ बजेदेखि जिल्लाका गुर्जा, कुइनेमङ्गलेलगायतका उच्च हिमाली र पहाडी क्षेत्रमा हिउँ पर्न सुरु भएको हो ।
गुर्जा मुदीलगायतका ठाउँमा अहिले हल्का हिमपात भइरहेको र जाडो बढ्दै गएकाले घरका काम प्रभावित बनेका स्थानीय टेकबहादुर विकले जानकारी दिनुभएको छ ।
पानीसँगै हिउँ पर्न थालेपछि म्याग्दीको जनजीवन कष्टकर बन्दै गएको छ । स्थानीय जनता घरभित्रै आगो बालेर बसिरहेका छन् भने पशुचौपायाको चरनमा समस्या उत्पन्न भएको छ ।
लेकलेकमा हिउँ परेका कारण तल्लो भेगमा अत्यधिक जाडो बढेपछि सर्वसाधारण जनताका कामकाज प्रभावित बनेका छन् । विशेषगरी बालबालिका र वृद्धवृद्धा समस्यामा परेका छन् ।
हिमपात भएपछि जिल्लाका उच्च हिमाली क्षेत्रमा लगाइएको गहुँ, जौबाली राम्रो हुने स्थानीय जनता बताउँछन् । पश्चिम म्याग्दीका बाबियाचौर, कुहूँ, दरबाङ, भकिम्ली, बरञ्जालगायतका गाविसमा लगाइएको गहुँबाली सुक्न लागेको समयमा आएको वर्षाले राहत मिलेको स्थानीयवासी रोशन घर्तीले बताउनुभयो । रासस















प्रतिक्रिया