राजविराज, २७ मंसिर । सप्तरीको उत्तरी भेगका आधा दर्जन गाविसमा करिब चार सय पशु चौपायामा खोरेत अर्थात् बजहा रोग देखापरेको छ ।
विगत दुई सातादेखि जिल्लाको जण्डौल, सीतापुर, प्रसवनी, बक्दुवाह र हरिहरपुर लगायतका गाविसमा चार सयभन्दा बढी गाई, भैँसी, बाख्रा, बाछाबाछीहरूमा यो रोगको प्रकोप देखापरेको स्थानीय किसानहरूले बताएका छन ।
खोरेत रोग लागेपछि त्यस गाविसका पशु चौपायाहरूमा ज्वरो आउने, घाँस खान छाड्ने, सुस्त हुने, मुख जिब्रो र गिजामा घाउ हुने र खुट्टाको बीच खुरमा घाउ आउने जस्ता लक्षण देखापर्छ । पशु चौपायामा रोग देखापरेपछि किसानहरू चिन्तित भएको सीतापुरका किसान रामकुमार चौधरीले बताउनुभयो ।
यसैबीच, जिल्ला पशुसेवा कार्यालय सप्तरीका पशु चिकित्सक डा प्रमोद झाका अनुसार खाद्य तथा कृषि सङ्गठन (एफएओ)को सहयोगमा अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतका विशेषज्ञहरूको एक टोली आएर खोरेत रोग प्रभावित गाविसहरूमा अध्ययन गरिरहेको छ ।















प्रतिक्रिया