कञ्चनपुर, २७ मंसिर । सार्वजनिक सवारी साधनका चालकहरु सरकारी निर्णयको विरोध गर्दै आन्दोलनमा गएपछि कञ्चनपुरका यात्रु मर्कामा परेका छन् ।
चालकलाई हदैसम्मको कार्बाही गर्ने कानुनी प्रावधान लागू गरिएको भन्दै सार्वजनिक सवारी साधनका चालकले आन्दोलन थालेका हुन् ।
शुक्रबारदेखि सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रिएका चालकले शनिबार पनि आन्दोलनलाई जारी राखेका छन् । सडकमा फाट्टफुट्ट रुपमा मात्रै सवारीका साधन सञ्चालन हुँदा यात्रुले हैरानी खेप्नुपरेको छ ।
दुर्घटनामा चालकलाई मात्रै दोषी देखाइनु र शैक्षिक योग्यताको मापदण्ड तोकिने कार्य फिर्ता नहुँदासम्म आन्दोलन जारी रहने नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन कञ्चनपुरका अध्यक्ष गणेशनाथ योगीले बताउनुभयो ।
महाकाली सेती बस व्यवसायी समिति र पवनदूत बस व्यवसायी समितिमा आबद्ध चालक आन्दोलनमा गएपछि लामो र छोटो दूरीका सवारी साधन चालकलाई शनिबार छलफलका लागि बोलाइएको छ ।
यता यात्रुहरुले तत्काल यातायात सञ्चालन गर्न माग गर्दै यातायात व्यवसायी र मजदूरहरुले आफूखुशी बन्द गरेको भन्दै त्यसको विरोधमा उत्रिएका छन् । गाडी सञ्चालन नभए कडा आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
प्रहरीले सुरु गरेको अभियान सही भएको भन्दै यात्रुले यायायात व्यवसायी र मजदुरुले सडकमा मनपरी गरेको आरोप समेत लगाएका छन् ।















प्रतिक्रिया