काठमाडौं, २३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्था दर्ताको नाममा घुस लिँदालिँदै पक्राउ परेका कम्पनी रजिष्टार कार्यालय त्रिपुरेश्वरका सहायक रजिष्टार कविता केसीबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगकाअनुसार काठमाडौं नयाँपाटीस्थित जाम्बा थाङ्का एन्ड बाङ्जु नामक संस्थालाई जोरपाटीमा स्थानान्तरण गर्न कम्पनी रजिष्टार कार्यालय पुगेका सेवाग्राहीसँग सहायक रजिष्टार केसीले थलोमा नै घुस लिँदालिँदै पक्राउ परेकी थिइन् ।
यस्तै सोही कार्यालयका अर्का सहायक रजिष्टार पुष्पराज जोशीबिरुद्ध पनि सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
एसियन स्कुल अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नामक संस्थामा टोफल, आइएलटिएस कक्षा थप गर्नका लागि निवेदन दिएका सेवाग्राहीमाथि सहायक रजिष्टार जोशीले रु पाँच हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ परेका थिए ।
यसैगरी मापोत कार्यालय भक्तपुरका खरिदार भवकृष्ण भट्टराईबिरुद्ध पनि आयोगले आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
खरिदार भट्टराईले सीताकुमारी शाहलगायतका छजनाको राहदानी मिलाइदिन्छु भनी २० हजार घुस लिएका थिए ।
त्यस्तै औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्यामकुमार अधिकारी तथा सवारी चालक मनोज महर्जनबिरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
फार्मेसी अधिकृत अधिकारी र सवारी चालकले औषधि पसलको अनुगमन गरी नमिलेको कुरा मिलाइदिन्छु भनी १५ हजार घुस लिँदालिँदै पक्राउ परेका थिए ।
आयोगले मुद्दा दायर गरेका सबैलाई हदैसम्मको कारबाहीको माग गरिएको छ ।















प्रतिक्रिया