विराटनगर, २३ मंसिर । सरकारले कृषकलाई गहुँ उत्पादन वृद्धि गर्न दिएको अनुदानको बीउ भारततर्फ तस्करी हुने गरेको छ ।
मोरङको दक्षिणी भाग हुँदै विभिन्न नाकाबाट अनुदानको गहुँको बीउ भारत जान थालेपछि नेपाली कृषक कमसल बीउ प्रयोग गर्न बाध्य भएका छन् ।
राष्ट्रिय बीउबिजन कार्यालय इटहरीबाट सहुलियतदरमा उपलब्ध गहुँको बीउ तस्करीका कारण कृषकसम्म पुग्न सकेकोे छैन ।
प्रत्येक वर्ष सरकारले कृषकका लागि उन्नत जातको गहुँको बीउ सहकारी संस्था तथा डिलरमार्फत बिक्री वितरणका लागि उपलब्ध गराउँदै आएको छ ।
बीउबिजन कार्यालयले उपलब्ध गराउँदै आएको बीउ अपुग भएकाले डिलरमा आइपुग्ने बित्तिकै बिक्री हुने गरेको छ ।
बीउ बिक्री गर्दा को तस्कर हो भन्ने थाहा नहुँदा समस्या आएको डिलरको भनाइ छ ।
नेपाल सरकारले अनुदानमा दिएको गहुँको बीउ प्रतिकेजी ३० देखि ४० का दरले बिक्री वितरण हुँदै आएको छ भने अनुदान बिनाको गहुँको मूल्य प्रतिकेजी ६२ पर्न आउँछ ।
सरकारले अनुदानमा उपब्लध गराउँदै आएको एनएल, विजय तथा गौतम नामक उन्नत जातको गहुँको बीउ गुणस्तरीय हुने भएकाले भारतमा त्यसको मूल्य दोब्बर हुने गरेको छ ।
अनुगमनको अभावमा सहुलियत दरमा उपलब्ध गराउँदै आएको गहुँको बीउ कृषकसम्म पुग्न नसकेको कृषकको भनाइ रहेको छ ।
टकुवाका कृषक रामचन्द्र दासले डिलरले बीउ ल्याए पनि अनुगमन नहुँदा कृषकले बीउ पाए कि पाएनन् भन्ने थाहा नहुने बताउनुभयो ।
भारतीय तस्करले दक्षिणी मोरङका केही डिलर तथा सहकारीलाई बढी मूल्य तिरेर बीउ खरिद गर्ने गरेका छन् ।
नेपाली कृषकले गहुँको बीउ लिन नागरिकता तथा जग्गाधनी पुर्जाको फोटोकपी सम्बन्धित पसलमा देखाउनुपर्ने हुन्छ ।
तर बढी मूल्य तिरेपछि तस्करलाई नागरिकता र जग्गा धनीपुर्जा बीना नै सहजरुपमा बीउ उपलब्ध गराउने गरेको कृषकको आरोप छ ।
लामो समयसम्म पसलमा जाँदा पनि सरकारी बीउ नपाएपछि स्थानीय बीउ प्रयोग गरेको डाइनियाका कृषक श्याम राजवंशीले बताउनुभयो ।
मोरङको दक्षिणवर्ती क्षेत्रमा सहुलियत गहुँको बीउ बिक्री गर्ने एक दर्जनभन्दा बढी पसल छन् ।
जिल्ला कृषि विकास कार्यालय मोरङका कृषि प्रसारक अधिकृत सत्यदेव मण्डलले बाहिर जे जस्तो कुरा आए पनि गहुँको बीउ तस्करी नभएको दाबी गर्नुभयो ।
बीउको तस्करी रोक्न डिलरको मागअनुसार बीउ उपलब्ध नगराएको उहाँले बताउनुभयो ।
डिलरले २० टनसम्म गहुँको बीउ माग गरे पनि आफूहरुले पाँच टन मात्र बीउ उपलब्ध गराएको अधिकृत मण्डलको भनाइ छ ।
मोरङ जिल्लाका लागि बीउबिजन केन्द्रबाट यसपटक ३२० टन गहुँको बीउ उपलब्ध गराइएको छ ।
मोरङ जिल्लामा १७ हजार हेक्टरभन्दा बढी जग्गामा गहुँखेती गरिँदै आएको छ । एक हेक्टरमा गहुँको बीउ १२० केजीसम्म लाग्ने गरेको छ ।
यसरी सरकारले सहुलियत दरमा उपलब्ध गराएको गहुँको बीउ सीमित कृषकलाई मात्र उपलब्ध हुने गरेको छ ।













प्रतिक्रिया