
बेइजिङ, २० मंसिर । चिनियाँ कम्युनिस्ट पार्टीले पूर्व सुरक्षाप्रमुख झाउ योङकाङलाई पक्राउ गर्ने र बर्खास्त गर्ने निर्णय गरेको छ ।
यसलाई पर्यवेक्षकहरूले राष्ट्रपति सी जिनपिङको शक्ति सुदृढीकरणको रूपमा हेरेका छन् ।
झाउले चीनको सबैभन्दा शक्तिशाली पोलिटब्युरो स्थायी समिति (पीएससी) बाट सन् २०१२ मा अवकाश प्राप्त गरेका हुन् । उनलाई हाल घुस लिएको तथा राज्यको गोप्य कुरा चुहाएको आरोपमा न्यायिक अनुसन्धान राखिएको जानकारी सिन्हवा समाचार संस्थाले दिएको छ ।
चीनमा सन् १९८० मा संस्थापक नेता माओ जेदोङका विधवासहित चार व्यक्तिको समूह ‘ग्याङ अफ फोर’लाई अनुसन्धानका लागि पक्राउ गरिएपछि कम्युनिस्ट पार्टीका सबैभन्दा वरिष्ठ व्यक्तिमाथि अनुसन्धान गर्न खोजिएका झाउ पहिलो व्यक्ति हुन् ।
फोर्डहाम ल स्कुलका चिनियाँ कानुनसम्बन्धी विशेषज्ञ कार्ल मिन्जनरले चिनियाँ पार्टीका सबैभन्दा माथिल्ला पदमा रहेका नेताहरूलाई पदमुक्त भएपछि उनीहरूमाथि कारबाही नचलाउने लामो समयसम्म चलेको आन्तरिक मान्यता तोडिएको जस्तो देखिएको बताए ।
झाउ कारबाहीमा परेका राजनीतिज्ञ बो सिलाईका नजिकका मित्रका रूपमा देखिएका छन् । झावका कडा नीतिका कारण बो सिलाई पार्टीको उच्च तहबाट झारेको ठानिएको थियो । सोही नीति झावको भराइको कारण बन्न पुगेको विशेषज्ञहरूले बताएका छन् ।
मिन्जनरले झाउको पतनले राष्ट्रपति सीको शक्ति निकै बढेको र यसले खेलको नियम नाटकीय रूपमा परिवर्तन गरेको बताए ।
चीनको शक्तिशाली पेट्रोलियम उद्योगका प्रमुख व्यक्तित्व झाउ राष्ट्रपति सीको निकै प्रचार गरिएको भ्रष्टाचार नियन्त्रण अभियानको चपेटामा परे । उनलाई गम्भीर रूपमा अनुशासन भङ्ग गरेको आरोपमा अनुसन्धानमा राखिएको छ ।
सिन्ह्वाले पोलिटब्युरोले झाउलाई बर्खास्त गर्ने निर्णय शुक्रबार गरेको जानकारी दिएको छ । यसलाई पार्टीको सबैभन्दा केन्द्रमा रहेको नेताहरूको समूहले समर्थन गरेको सङ्केत देखिएको छ ।
दुई वर्ष अगाडि सी नेतृत्वमा आएपछि कम्युनिस्ट पार्टीका अधिकारीहरू भ्रष्टाचार विरोधी अभियानमा लागेका छन् ।
अधिकारीहरूले गर्ने भ्रष्टाचारप्रति चीनमा क्रोध बढेको छ र राष्ट्रपति सीले यसलाई पार्टीको अस्तित्वका लागि चुनौतीको रूपमा लिएका छन् । उनले यसका विरुद्ध अभियान सञ्चालन गरेका छन् ।
यस अभिययानमा उच्चस्तरीय अधिकारीदेखि साना कर्मचारी पनि परेका छन् । अर्कोतिर आलोचकहरू कम्युनिस्ट पार्टीले भ्रष्टाचार हुन नदिन सम्पत्तिको सार्वजनिक प्रकाशन जस्तो प्रणालीगत रूपमा सुधार गर्न नसकेको आरोप लगाएका छन् ।
सिन्ह्वाले दिएको समाचारमा झाउले आफ्ना नातेदार, महिला मित्र तथा मित्रहरूलाई व्यापार गरी ठूलो मात्रामा नाफा कमाउन दिएको र सरकारी सम्पत्तिमा ठूलो मात्रामा नोक्सानी पारेको आरोप पोलिटब्युरोले लगाएको उल्लेख गरिएको छ ।
सिन्ह्वा समाचार संस्थाले यस विषयमा बढी सरल भाषा प्रयोग गरी झाउले अनेकौँ महिलासँग शारीरिक सम्बन्ध राखेको र यौनसम्पर्क तथा पैसाका लागि आफ्नो शक्ति प्रयोग गरेको उल्लेख गरेको छ ।
चीनमा वैवाहिक सम्बन्धभन्दा बाहिर शारीरिक समबन्ध राख्नु गैरकानुनी मानिन्न । अर्कोतिर कम्युनिस्ट पार्टीका नेताहरूले अनेकौँ महिला मित्र राखेको भनी आएका समाचारले यस पार्टीलाई नराम्रो अवस्थामा पुराएको छ ।
जुन महिनामा अधिकारीहरूले कुनै पनि अधिकारी सम्बन्धका विषयमा दोषी प्रमाणित भए निजलाई पद तथा पार्टीको सदस्यबाट हटाउन सकिने बताएका थिए ।
चिनको अनलाईन सामाजिक सञ्जालमा झाउको समाचार व्यापक रूपमा वितरण भएको छ । – एएफपी













प्रतिक्रिया