२९ आश्विन २०८३, बिहिबार

स्याङ्जामा यो वर्ष मात्र २१ करोडको सुन्तला उत्पादन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Illam-orangeपोखरा, १९ मंसिर । स्याङ्जा जिल्लामा यस वर्ष करिब रु २१ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।

जिल्लामा यो वर्ष १२ हजार ४२३ मेट्रिकटन सुन्तला उत्पादन भएको बागवानी अधिकृत तीलक केसीले जानकारी दिनुभयो । गत वर्ष जिल्लामा ११ हजार ८३२ मेट्रिकटन सुन्तला उत्पादन भई कृषकले करिब रु २० करोड कमाएका थिए ।

जिल्लामा बगैँचा व्यवस्थापन कार्यक्रम लागू भएका ठाउँमा १० देखि १५ प्रतिशत र अन्य ठाउँमा केहीमा घटी र केहीमा बढी गरी सरदर पाँच प्रतिशत सुन्तला उत्पादन भएको अधिकृत केसीले जानकारी दिनुभयो ।

जिल्लाका ५७ गाविस र तीन नगरपालिकामध्ये पुतलीबजार र वालिङ नगरपालिका एवं ३५ गाविसमा सुन्तला उत्पादन हुने गर्दछ ।

जिल्लाको ११६० हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य क्षेत्र मानिन्छ । व्यापारीले कृषकको बगैँचामै पुगी प्रतिकिलो ३० देखि ४० मा सुन्तला खरिद गर्ने गरेका छन् ।

जिल्लाका पुतलीबजार नगरपालिकाको वडा नं १२ र १३, दाङसिङ्ग, दहथुम, पेलाकोट, अर्जुनचौपारी, रापाकोट, ठूलाडिही, फापरथुम गाविसमा अत्यधिकमात्रामा सुन्तला उत्पादन हुने गर्दछ ।

यी गाविसका किसानले न्यूनतम ५० हजारदेखि पाँच लाखसम्मको सुन्तला बिक्री गर्ने गर्दछन् ।

स्याङ्जामा उत्पादित सुन्तलाको बजार बुटवल, पोखरा, नारायणगढ र भैरहवा हुन् । यहाँ उत्पादित सुन्तला निकै स्वादिष्ट भएकाले उपभोक्ताले अधिकमात्रामा रुचाउने व्यापारी बताउँछन् ।