२९ आश्विन २०८३, बिहिबार

सिरहा र सप्तरीका ७३ सहकारी कारबाहीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sahakari-Bivagलहान, १८ मंसिर । सहकारी डिभिजन कार्यालय लहानले समयमा लेखा परीक्षण स्वीकृति नलिने सिरहा र सप्तरीका ७३ वटा सहकारी संस्थालाई कारबाही स्वरुप जरिवाना गरेको छ ।
गएको आर्थिक वर्ष २०७०/०७१ को लेखा परीक्षणका लागि स्वीकृति नलिएको भन्दै डिभिजन सहकारी कार्यालयले सिरहाका ३९ वटा र सप्तरीका ३४ वटा संस्थालाई कारबाही स्वरुप जरिवाना गरेको हो ।

सहकारी संस्थामाथि गरिएको जरिवानाबाट चालु आर्थिक वर्षको चार महिनाको अवधिमा रु ७१ हजार ७०० राजस्व सङ्कलन भएको डिभिजन सहकारी संस्थाका प्रमुख रेखनाथ दाहालले जानकारी दिनुभयो ।

समयमा लेखा परीक्षण स्वीकृति नलिने सहकारी संस्थाबाट रु एक हजार ५०० सम्म जरिवाना तिराउन सक्ने कानुनी व्यवस्था रहेकाले सोहीअनुरुप ती सहकारी संस्थामाथि कारबाही स्वरुप जरिवाना गरेको उहाँले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्ष २०६९/०७० मा पनि डिभिजन सहकारी कार्यालय लहानले समयमा लेखा परीक्षण स्वीकृति नलिने विभिन्न सहकारी संस्थाबाट जरिवाना स्वरुप रु ७२ हजार ५०० राजस्व सङ्कलन गरेको थियो ।

सिरहामा ६०० र सप्तरीमा ५०० सहकारी संस्था दर्ता रहेको सहकारी डिभिजन कार्यालयले जनाएको छ । दर्ता गराएर पनि लामो समयसम्म कुनै कारोबार नगरेको भन्दै सहकारी डिभिजन कार्यालयले गएको आर्थिक वर्ष २०७०/०७१ मा सप्तरीका १२ वटा र सिरहाका छवटा गरी १८ वटा सहकारी खारेज गरेको थियो ।

सहकारी डिभिजन कार्यालय लहानले सिरहा र सप्तरीलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ । रासस