नयाँ दिल्ली, १८ मंसिर । भारतमा एकजना मन्त्रीको अभिव्यक्तिका कारण विपक्षीहरुले संसद् अवरुद्ध पारेका छन् ।
विपक्षीहरुले उनको राजीनामा मागेका कारण संसद्को माथिल्लो सदनमा तनाव उत्पन्न भएको छ । माथिल्लो सदनको बैठक गत सोमबारदेखि सुचारु हुन सकिरहेको छैन ।
तर सो तनावका कारण पनि प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बर्खास्त नगरिने बताउनुभएको छ ।
विपक्षीहरुले भने ती मन्त्रीको राजीनामा माग गरी संसद् अवरुद्ध पारेका छन् । भारतीय मन्त्रिपरिषद्की एकजना मन्त्री नीरञ्जन ज्योतीले गत सोमबार दिएको अभिव्यक्तिले हिन्दू धर्मको प्रचार गरेको र अन्यलाई होच्याएको आरोप लागेको छ ।
ती मन्त्रीले गत सोमबार दिएको भाषणमा वर्तमान सरकारलाई रामराज्यको सङ्ज्ञा दिएकी थिइन् ।
उनले भाषणमा भारतीय जनतालाई देवता वा राक्षस कसले चलाएको सरकारमा बस्ने भन्ने कुरा भारतीय जनताले निर्णय गर्नुपर्ने भन्दै वर्तमान सरकारलाई रामराज्यको सङ्ज्ञा दिएकी थिइन् ।
उनी भारतीय सरकारमा एक कनिष्ठ मन्त्री हुन् । यो भनाइका लागि उनले आममाफी पनि मागिसकेकी छिन् ।
तर विपक्षीहरुले भने माफीमात्र मागेर नहुने भन्दै उनलाई सरकारबाटै हटाउनुपर्ने बताएका छन् ।
संसद्मा विपक्षीहरुले निरन्तर रुपमा उनको राजीनामा माग गरेपछि प्रधानमन्त्री मोदीले बिहीबार उनलाई मन्त्रीबाट नहटाइने स्पष्ट गर्नुभएको हो ।
उहाँ नयाँ मन्त्री हो, उहाँ पहिलोपटक भारतीय संसद्मा प्रवेश गर्नुभएको हो र आफूले दिएको अभिव्यक्तिप्रति उहाँले क्षमा पनि मागिसक्नु भएकाले उहाँलाई बर्खास्त नै गर्नुपर्ने कुनै कारण छैन– प्रधानमन्त्री मोदीले भन्नुभयो ।
बिहीबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले संसद्को बैठकलाई निरन्तर गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।
उहाँले भन्नुभयो– उहाँले माफी मागिसकेपछि अब संसद् अवरुद्ध गर्नुको कुनै पनि कारण छैन, बैठकलाई देशको कामका लागि सुचारु गरौैँ । रासस/एएफपी













प्रतिक्रिया