१ कार्तिक २०८३, आइतबार

शिक्षिका कुट्ने सोलुखुम्बुका प्रधानाध्यापकलाई सार्वजनिक मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, १७ मंसिर ।  आफ्नै सहकर्मी दुई जना शिक्षिकालाई कुटपिट गरेको आरोपमा पक्राउ परेका चिवाङ प्रावि सुर्के सल्लेरीका प्रधानाध्यापकलाई सार्वजनिक अपराध मुद्दा लगाइएको छ ।

गत मंसिर ८ गते विद्यालय सञ्चालन भइरहेको बेलामा आपसी विवाद हुँदा सहकर्मी शिक्षिका रमिला कार्की र सुशीला राईलाई कुटपिट गरी घाइते बनाएपछि प्रहरीले प्रधानाध्यापक रामकाजी राजभण्डारीलाई सोही दिनदेखि हिरासतमा राखेको थियो ।

पीडितले दिएको जाहेरीको आधारमा प्रधानाध्यापक राजभण्डारीलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

घाइतेमध्ये सुशीला राई सामान्य रहेको र शिक्षिका रमिला कार्कीलाई टाउकोलगायत ढाडमा चोट लागेकाले उपचारका लागि फाप्लु अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

लामो समयदेखि शिक्षिका र प्रधानाध्यापकबीचको विवाद सार्वजनिक भइरहेको सो विद्यालयमा त्यस दिन शिक्षिकाले आफूमाथि हातपात गरेपछि आफूले प्रतिकार गरेको प्रधानाध्यापकले बताउनुभएको छ भने शिक्षिका रमिला कार्कीले आफू कक्षामा पढाइरहेको बेला एक्कासी प्रधानाध्यापकले आक्रमण गरेको बताउनुभयो । रासस