म्याग्दी, १७ मंसिर । द्वन्द्वको समयमा क्षति गराइएका म्याग्दीका चौध गाविस कार्यालयको भवन पुनः निर्माण भएका छन् ।
शान्ति तथा पुनः निर्माण मन्त्रालयको सहयोगमा जिल्ला प्राविधिक कार्यालयमार्फत थप तीन भवन निर्माणाधीन अवस्थामा रहेका छन् ।
भकिम्ली, बाबियाचौर, दरवाङ, दाना, भुरुङ तातोपानी, अर्मन, कुहूँ, बरङ्जा र चिमखोला गाविसको भवन निर्माण भएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर हर्षबहादुर गुरुङले जानकारी दिनुभयो ।
इन्जिनियर गुरुङका अनुसार हालै बेनी नगरपालिकामा समावेश गरिएको साबिकको अर्थुङ्गे, ज्यामरुककोट, घतान, रत्नेचौर र पुलाचौरमा पनि भवन निर्माण भइसकेको छ ।
बेनी नगरपालिकाअन्तर्गत १३ र १४ नम्बर वडामा पर्ने सिङ्गा र मुना गाविसको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
शिख गाविसको भवन निर्माण भने ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र परेको जनाइएको छ ।
यस वर्ष हिस्तान गाविसको भवन निर्माणका लागि शान्ति तथा पुनः निर्माण मन्त्रालयले आवश्यक बजेट उपलब्ध गराएको इन्जिनियर गुरुङले बताउनुभयो ।
जिविसका अनुसार बेनी नगरपालिकामा समावेश साबिकका सबै गाविसमा भवन सुविधा भए पनि थप २३ गाविस भवनविहीन भएका छन् ।
भवन पुनः निर्माणमा ढिलाइ हुँदा कार्यालय सञ्चालन, भेला, बैठक र तालिम सञ्चालन गर्न कठिनाइ भएको शिख गाविसका सचिव खेमराज पौडेलले बताउनुभयो ।















प्रतिक्रिया