काठमाडौ, १५ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सहमति र सम्वादका नाममा समय खेर फाल्न नहुने बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले संविधानसभा नियमावली संसोधन गरेर प्रक्रिया छोट्याएर भएपनि माघ ८ गते भित्र संविधान जारी गर्नु पर्ने बताउनु भयो ।
उहाँले एमाओवादीले भने जस्तो एकल जातीय पहिचान कुनै पनि हालतमा स्विकार्य नहुने भन्दै नेकपा एमाले र नेपाली काँग्रेसले ल्याएको प्रस्ताव जनताको पक्षमा भएकोले त्यसमा आउन एमाओवादीलाई आग्रह गर्नुभयो । ‘सम्वाद समितिले यो प्रस्ताव संविधानसभामा पेश गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामी यसमा अडिग छौं ।’
भारतीय प्रधानमन्त्रीले सहमतिमा संविधान जारी गर्न दिएको विषयलाई सुझावको रुपमा लिनुपर्ने भन्दै उहाँले कुनै पनि विदेशीले यसो गर र यसो नगर भनी गाईड लाईन दिन नहुने स्पष्ट पार्नुभयो ।
‘विदेशीहरुले शुभेच्छा दिन सक्छन तर यसो गर उसो गर भनेर निर्देशन दिन मिल्दैन, हामी आफ्नो निर्णय आँफै गर्न सक्छौं,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले संघीयता सहित विवादित विषयहरुलाई थाति राखेर भए पनि माघ ८ गते भित्र जुनसुकै हालतमा संविधान जारी हुने बताउनु भयो ।
उहाँले सकेसम्म सहमति नसके संघीयतालगायतका विवादित विषयहरुलाई थाति राखेर भएपनि संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले माघ ८ पछि सरकार परिवर्तनको हल्ला गरेर केही शक्तिहरुले संविधान जारीगर्न नदिने खेल खेलिरहेको दावी गर्नुभयो ।
त्यसैगरी उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहमतिमा संविधान जारी गर्न दिएको सुझाव राम्रो भएपनि नेपालको आन्तरिक विषय आन्तरिक रुपमा आफूहरुले नै मिलाउने स्पष्ट पार्नुभयो । कोइरालाले कार्यक्रममा काँग्रेस र एमालेको प्रस्तावमा लचिलो भएर आउँन एमाओवादीलाई आग्रह गर्नुभयो ।
एमाओवादी प्रवक्ता दिनानाथ शर्माले सत्तापक्षीय दलहरु सहमति नगरी प्रक्रियामा जाने मौका खोजिरहेको दावी गर्दै गणितीय बलमा संविधान जारी गर्न खोजे आफुहरु जनतामा जाने चेतावनी दिनुभयो ।
उहाँले प्रधानमन्त्री र नेपाली काग्रेससँग सहमतिमा संविधान जारी गर्ने महत्वपूर्ण अवसर भएको भन्दै सहमति गर्न नसके माघ ८ पछि सुशील कोइराला वा केपी ओली मध्ये कोही पनि प्रधानमन्त्री नबन्ने चेतावनी दिनुभयो ।
उहाँले संघीयतालाई थाति राखेर जारी गर्ने संविधान आफुहरुलाई मान्य नहुने पनि स्पष्ट पार्नुभयो ।















प्रतिक्रिया