१ कार्तिक २०८३, आइतबार

चेक पोस्ट स्थापना भएपछि पर्यटकलाई सुविधा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

muktinath-म्याग्दी, १५ मंसिर । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटक चेक पोस्ट र सूचना केन्द्र स्थापना भएपछि पर्यटकलाई सुविधा पुगेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले मुक्तिनाथमा स्थापना गरेको सूचना केन्द्रसँगै चेक पोस्ट स्थापना गरेको हो ।

केन्द्रमा पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा आउने र राउन्ड अन्नपूर्ण पदमार्गको थोराङ पास गर्ने पर्यटकको तथ्याङ्क राख्ने र पर्यटकलाई आवश्यक सूचना उपलब्ध गराउन थालिएको एक्याप जोमसोमका प्रमुख विदुर कुइँकेलले जानकारी दिनुभयो ।

मुक्तिनाथमा यसअगाडि सञ्चालनमा रहेको सूचना केन्द्रलाई व्यवस्थित गर्दै पर्यटकको  तथ्याङ्क राख्नका लागि चेक पोस्टसमेत स्थापना गरेको कुइँकेलले बताउनुभयो ।

उक्त चेक पोस्टमा अहिले दुई कर्मचारी राखिएको र थप जनशक्तिको व्यवस्थापन गर्ने तयारी भइरहेको एक्याप मुस्ताङले जनाएको छ ।

एक्याप प्रमुख कुइँकेलका अनुसार सूचना केन्द्रबाट थोराङ पास, लोमानथाङलगायत पर्यटकीय स्थानको भ्रमणमा आउने पर्यटकलाई मौसमको अवस्था, पदमार्ग, भूगोल, आवास सुविधा लगायतका सूचना प्रदान गरिँदै आएको छ ।

भारी हिमपात र मौसम खराबीको कारण हुनसक्ने सम्भावित दुर्घटनाबाट पर्यटकलाई जोगाउन, तत्काल उद्धार गर्न, पर्यटकको यकिन विवरण राख्न चेक पोस्ट र सूचना केन्द्रले सहयोग पुग्ने विश्वास गरिएको छ ।