२९ आश्विन २०८३, बिहिबार

वार्षिक चार अर्ब विप्रेषण भित्रियो, अधिकांश रकम दैनिक गुजारामै खर्च

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

myagdi_district-Mapम्याग्दी, १३ मङ्सिर । बेनी नगरपालिका–७ डम्मराकी ७० वर्षीया दुर्गालक्ष्मी क्षेत्रीले आजभोलि सुखका दिन विताउन थाल्नुभएको छ ।

पहिले भएको आफ्नो सम्पत्ति र जग्गा पहिरोले बगाएपछि घरबारविहीन भएर आफन्तको घरमा शरण लिएर बस्नुभएको थियो । उहाँका एकमात्रै छोरा हाल रोजगारीका क्रममा साउदीमा हुनुहुन्छ ।

पहिरोले घरबारविहीन भएको दुर्गाको परिवारले अहिले भने विदेशमा रहेको छोराले पैसा पठाउन थालेपछि केही सुखको अनुभूति गर्न थाल्नुभएको हो ।

विदेशमा गएर छोराले कमाएको आम्दानीले अहिले आफ्नै, जग्गा जमिन र घर बनाउन सकेपछि केही सुखको अनुभूति हुन थालेको उहाँले बताउनुभयो ।

यतिबेला म्याग्दीका अधिकांश परिवारको घरखर्च जुटाउने निर्विकल्प माध्यमजस्तै बनेको छ वैदेशिक रोजगारी । युवा रोजगारीका लागि विदेश पलायन हुने क्रमसँगै हरेकजसो परिवारको आम्दानीको स्रोत नै वैदेशिक रोजगार बन्न पुगेको हो ।

जिल्लामा अहिले अधिकांश परिवारको गुजारा विदेशमा रहेका आफन्तले पठाउने रकमबाट चल्ने गरेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार म्याग्दीका १५ हजारभन्दा बढी युवा वैदेशिक रोजगारमा गएका छन् । अन्य जिल्लाको तुलनामा धेरै युवा वैदेशिक रोजगारीमा रहेको जिल्लाका रूपमा चिनिने म्याग्दीमा वार्षिक चार अर्बको हाराहारीमा विप्रेषण भित्रिने गरेको छ ।

वैदेशिक रोजगारीमा जानेक्रम बढेसँगै प्रत्येक वर्ष जिल्लामा भित्रिने विप्रेषणको मात्रा बढेको निलगिरि विकास बैंक लिमिटेड बेनीका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुमान श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७०/०७१ मा बैंकले रु एक अर्ब ४० करोडभन्दा बढी विप्रेषण भुक्तानी गरेको छ । तेइस हजार २७६ जनालाई विप्रेषण भुक्तानी गरेको बैंकले अधिकांश रकम साउदी, कतार, मलेसिया, दुवइलगायतका मुलुकमा रोजगारीको सिलसिलामा पुगेकाले पठाउने गरेको अधिकृत कमलप्रसाद ढुङ्गानाले बताउनुभयो ।

आर्थिक वर्ष २०७०/०७१ मा जिल्लाको बेनी, गलेश्वर, दरबाङ, भुरुङ तातोपानीलगायतका स्थानमा रहेका सहकारी तथा बैंकले चार अर्बभन्दा बढी विप्रेषण भुक्तानी गरेका छन् ।

जिल्लामा बेनीस्थित अन्य केही सहकारी तथा बैंक र ताकममा रहेका सहकारीले समेत विप्रेषण भुक्तानी गर्छन् । बैंक तथा वित्तीय संस्थामार्फत भुक्तानी भएको यो तथ्याङ्कमा हुन्डी र व्यक्तिमार्फत आएको रकम देखिदैन । जापान, कोरियालगायतका मुलुकमा रहेकाबाट हुन्डीमार्फत पैसा पठाउने गरेको जानकारहरू बताउँछन् ।

खाडी मुलुकबाट धेरै र अन्य देशबाट थोरै रकम आउने गरेको विप्रेषण कारोबार गर्ने सहकारी तथा बैंकले जनाएका छन् ।

यसरी बर्सेनि जिल्लामा भित्रिने अर्बौं रकमको अधिकांश भाग उपभोगमा खर्च हुने गरेको पाइन्छ । यसले भविष्यमा अभाव र परनिर्भरताको खाडल गहिरिदै जाने सम्भावना देखाउँछ । रासस