काठमाडौँ, १२ मंसिर । परराष्ट्र तथा आर्थिक मामिलाका जानकारहरुले भर्खरै काठमाडौंमा सम्पन्न १८ औं सार्क शिखर सम्मलेन व्यवस्थापकीय, सूरक्षा, कुटनीतिक तथा राजनीतिक सबै हिसावले सफलताका साथ सम्पन्न भएको स्पष्ट पारेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनीहरुले १८ औं शिखर सम्मेलनमा नेपाल सरकारले अत्यन्तै कुशलताका साथ व्यवस्थापन, कुटनीतिक क्षमता एवम राजनीतिक क्षमताको प्रर्दशन गरेको गरेको बताए । सम्मेलनले सार्क क्षेत्रमा मात्रै नभएर विश्व जनसमूदायको माँझमा नै सकारात्मक सन्देश गएको उनीहरुको दाबी थियो ।
साक्षात्कारमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले नेपालले विशेष परिस्थितिको बावजुद पनि शिखर सम्मेलन अत्यन्त सफलतापूर्वक सम्पन्न गरेको भन्दै आगामी दिनमा सार्कले गति लिने समेत विश्वास व्यक्त गर्नुभयो ।
‘दक्षिण एशियाका नेताहरुको माँझ नेपाल व्यवस्थापकीय र सूरक्षाको दृष्टिकोणको हिसावले महत्वपूर्ण तथा ठूला सम्मेलनहरु गर्नको लागि सक्षम छ भन्ने कुराको प्रमाणित भएको छ,’ उहाँले भन्नुभयो ।
अध्यक्षको हैसियतले प्रधानमन्त्री सुशील कोइरालाले सरकारप्रमुखहरुलाई धुलिखेलमा आयोजित रिट्रिटमा उर्जा सम्झौतामा सहमत गराउन सफल भएको समेत उहाँले जानकारी दिनुभयो ।
भट्टराईले चीनलाई सार्क सदस्य बनाउनुपर्छ भनेर कुनै पनि औपचारिक प्रस्ताव नआएको जानकारी दिँदै प्रस्ताव आए सामूहिक रुपमा त्यसवारेमा समेत निर्णय लिने बताउनुभयो । ‘चीन अहिलेको विश्वको उदयीमान शक्ती हो, अहिले चीन सार्कको पर्यवेक्षकको रुपमा रहेको छ,’ उहाँले भन्नुभयो ।
पूर्व पराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले व्यवस्थापकीय एवम सूरक्षाको दृष्टिकोणले सम्मेलन अत्यन्तै सफल भएतापनि नेपालको आन्तरिक राजनीति एवम कुटनीतिक अपरिपक्वताका कारणले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको काठमाडौं बाहिरका धार्मिक भ्रमणहरुको वारेमा गज्याङ्मज्याङ देखा पर्नु नकारात्मक भएको टिप्पणी गर्नुभयो ।
लोहनीले १७ वर्ष पहिले आफू पराष्ट्रमन्त्री हुँदा प्रस्ताव गरिएको नेपाल–भारत उर्जा सम्झौतामा भारतले चासो नदिएका कारण रोकिएको भन्दै भारतमा मोदी आउनासाथ यसले प्राथमिकता पाएको कारण उक्त सम्झौता सार्क स्तरमै हुनु अत्यन्तै ठूलो उपलब्धि भएको बताउनु भयो ।
भारतीय प्रधानमन्त्री मोदी र पाकिस्तानी प्रधानमन्त्री सरिफले सम्मेलनको उद्घाटन सत्रमै हात मिलाएर सकारात्मक सन्देश प्रवाह गर्न सकेको भए राम्रो हुने थियो भन्दै समापनमा हात मिलाउनु पनि सकारात्मक भएको टिप्पणी गर्नुभयो ।
पराष्ट्रविद एवम एमाले सभासद डा. राजन भट्टराईले नेपालको पाटोबाट हेर्दा शिखर सम्मेलन सफल एवम उपलब्धिमूलक भएको बताउनुभयो । भट्टराईले सार्क सचिवालय पूर्नसंरचना तथा स्तरोन्नती गर्ने निर्णय यसपटक भएको भन्दै अब सार्कले गति लिने समेत विश्वास व्यक्त गर्नुभयो ।
फोरम लोकतान्त्रिकका नेता जीतेन्द्र देवले पनि सार्क व्यवस्थापकी क्षमता, कुटनीतिक कौशल र राजनीतिक क्षमताले सफल भएको बताउनुभयो ।















प्रतिक्रिया