चितवन, ११ मंसिर । राससकर्मी तथा प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी माथि आक्रमण भएको आज आठ दिन पुग्दा पनि स्थानीय प्रशासन दोषी पक्राउ गरी कारबाही गर्न असफल बनेको छ ।
घटनाको अनुसन्धानमा चितवन प्रहरी कमजोर देखिएपछि विशेषज्ञ टोलीलाई मगाइएको र टोलीले आजबाट काम सुरु गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले जानकारी दिनुभयो ।
बिहीबार पत्रकारसँग भएको छलफलमा उहाँले डिएसपीको नेतृत्वमा उक्त घटनाकै लागि छानबिन गर्न भन्दै विशेष टोली मगाइएको विकेले जानकारी दिनुभयो ।
सो घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न भन्दै पत्रकार महासङ्घ चितवनले सङ्कलन गरेको एक हजार हस्ताक्षर आज प्रशासनमार्फत गृहमन्त्रालयलाई बुझाइएको छ ।
आक्रमणका दोषीलाइ पक्राउ गरी कारबाही गर्न माग गर्दै चितवनमा पत्रकार महासङ्घले बुधबार हस्ताक्षर सङ्कलन गरेको थियो ।
सङ्कलित हस्ताक्षर चितवन प्रशासनमार्फत गृहमन्त्रालयलाई बुझाइएको र पत्रकार महासङ्घ केन्द्रीय कार्यालय र अन्तर्राष्ट्रिय पत्रकार महासङ्घलाई समेत जानकारी दिइएको छ ।
सो कार्यक्रममा महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले घटना नियोजित भएको भन्दै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्नुभयो । उहाँले प्रशासनले तदारुकता नदेखाएकोमा चिन्ता प्रकट गर्नुभयो ।
प्रेसमाथिको आक्रमण बन्द गर, शान्तिसुरक्षाको ग्यारेन्टी गर, पत्रकार अधिकारीमाथिको आक्रमणका दोषीलाई कारबाही गर भन्ने नारासहित यहाँ पत्रकार महासङ्घले चरणबद्ध दबाबमूलक कार्यक्रम गरिरहेको छ ।
पत्रकार अधिकारीलाई यही मङ्सिर ४ गते आफ्नै निवास नजिकै अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गर्दा हातमा गम्भीर चोट लागेको छ । रासस















प्रतिक्रिया