१ कार्तिक २०८३, आइतबार

जापानीज ‘स्कूल बाजे’को अगुवाईमा काभ्रेमा विद्यालय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

School-yesimaru-yojiri

काभ्रे, ११ मंसिर । नेपालमा ८३ वटा सामुदायिक विद्यालय बनाइसकेका जापानीज नागरिक इसिमारु योजिरोको नेतृत्वमा काभ्रेको विकट गाविसमा नयाँ विद्यालय भवन निर्माण गरिएको छ ।

नेपालका विकट गाउँ बस्तीमा ‘स्कूल बाजे’का नामले परिचित इसिमारुको संस्था एसिया फ्रेण्डसिप नेटवर्कको अगुवाईमा काभ्रेको सस्र्युखर्क गाविसको डाँडागाँउस्थित बालकल्याण निम्न माध्यमिक विद्यालयमा ३ कोठे २ तले पक्की भवन निर्माण गरिएको हो । जापानको डियर्स कम्पनीले आर्थिक सहयोग गरेको यस विद्यालय भवन बुधबार एक समारोहका बीच हस्तान्तरण गरिएको छ ।

२२ लाख रुपैयाँ जापानीज संस्थाको सहयोग तथा विद्यालयको आन्तरिक स्रोतको समेत प्रयोग गरि २९ लाख रुपैयाको लागतमा भवन निर्माण गरेको हो । सहयोग रकम मध्ये २० लाख भवन निर्माण तथा २ लाख फर्निचरका लागि सहयोग गरेको डियर्सका प्रतिनिधि हिरोकाजूले बताए । उनले भने– ‘हाम्रो कम्पनीमा बार्षिक आम्दानीको १ प्रतिशत मात्रैले यो स्कुल भवन बनाइएको हो ।’ कार्यक्रममा जापानीज संस्था डियर्स र जापानस्थित जोइन एजुकेशनल सपोर्ट सोसाइटीका अधिकारीहरु पनि उपस्थित थिए ।

school-kavre

जापानका विभिन्न संघसंस्थाको सहयोगमा एसिया फ्रेण्डसिप नेटवर्कले नेपालको १४ वटा जिल्लामा ८३ वटा स्कुल भवन बनाइसकेको नेटवर्कका दक्षिण एसिया प्रतिनिधि गणेशमान लामाले जानकारी दिए । उनका अनुसार काभे्र जिल्लामा मात्रै ३७ वटा स्कुल भवन बनेका छन् । ५ वटा भवन निर्माण सम्पन्न हुने क्रममा रहेको लामाले बताए ।

तामाङ समुदायको बाहुल्यता रहेको डाडागाउँको विद्यालयमा दुई सयभन्दा धेरै विद्यार्थी अध्ययन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कप्तान तामाङले बताए । भवन अभावमा चौरमा बसेर पढ्नुपर्ने अवस्थाको अन्त्य भएको कक्षा ७ मा अध्ययनरत विद्यार्थी सुनिता लामाले सुनाइन् । ‘ यसअघि पानी परे पनि चुहिने अवस्था रहेकोमा अबको राम्रो भवनमा पढ्न पाइने भयो ।’

School-final

एक सय तामाङको बस्तीको बिचमा बनेको सो भवन बनेपछि तामाङ समुदायका विद्यार्थीले अब विद्यालयसम्म नियमित जाने अभ्यास गर्ने विद्यालय हस्तान्तरण समारोहका प्रमुख अतिथी सभासद् तिर्थ लामाले बताए । सस्र्युखर्क गाविसका निर्वतमान अध्यक्ष संग्राम लामाले लामो समयदेखिको गाँउलेको सपना पुरा भएको भवन उद्घाटनपछि प्रतिक्रिया दिए ।