१ कार्तिक २०८३, आइतबार

सार्क फस्ट लेडीलाई सुजताले यसरी घुमाइन भक्तपुर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

B3bDt-tCQAAJhbEरमेश गिरी
भक्तपुर, ११ मंसिर । अठारौँ सार्क शिखर सम्मेलनमा भाग लिन आउनुभएका सार्क फस्ट लेडी र विदेशमन्त्रीका श्रीमतीहरुले बिहीबार विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरका प्रमुख सम्पदाहरुको अवलोकन गर्नुभयो ।

भक्तपुर भ्रमणमा आउने फस्ट लेडीमा माल्दिभ्सकी फतिमा इब्राहम र पाकिस्तानकी बेगम साहिबा हुनुहुन्छ । बङ्गलादेशका विदेशमन्त्रीकी पत्नी साहिन अली र श्रीलङ्कालीे विदेशमन्त्रीकी पत्नी सावित्री नेहम पेरिस उक्त टोलीमा सम्मिलित हुनुहुथ्यो ।

दरबारस्क्वायरमा उहाँहरुलाई नेपालकी फस्ट लेडी सुजाता कोइराला, प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुर, स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरी, नगरपालिकाका कार्यकारी अधिकृत राममणि भट्टराईलगायतले स्वागत गर्नुभएको थियो ।

आज बिहान १०ः५० बजे भक्तपुरको दरबारस्क्वायर आइपुग्नु भएका पाहुनाहरु १२ बजे फर्किनुभएको थियो । स्वागतपछि उहाँहरुलाई ५५ झ्याले दरबार, राष्ट्रिय कला सङ्ग्रहालयको अवलोकन गराइएको थियो ।

त्यसैगरी, उहाँहरुले दरबारस्क्वायरको लामोपाटीमा भक्तपुर उद्योग वाणिज्य सङ्घले राखेको चर्खा, हाकुपटासी बुन्दै गरेको कपडा बनाउने तान, भक्तपुरका परम्परागत धातुकला, मूर्तिकला तथा हस्तकलाका सामग्रीको अवलोकन गर्नुभएको थियो ।

अवलोकनका क्रममा श्रीलङ्काको परराष्ट्रमन्त्रीको पत्नी पेरिसले ढाकाको सल, ऊनी टोपी र नेपाली हातेकागजबाट बनाइएको डायरी किन्नुभएको थियो । पाहुनालाई व्यापारीले आफूले उत्पादन गरेका सामग्री चिनोको रुपमा दिएका थिए ।

पाँचतले मन्दिरको अवलोकनपछि उहाँहरुलाई तौमढी स्क्वायरमा प्रदर्शन गरिएको प्रसिद्ध देवी नाचको अवलोकन गराइएको थियो । तौमढी स्क्वायरको न्यातपोल क्याफेमा बसेर उहाँहरुले चियापानसँगै देवी नाच हेर्नुभएको थियो ।

अवलोकनको क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पाकिस्तानका फस्ट लेडी साहिबाले नेपाल सम्पदाको धनी भएको बताउँदै यहाँका हस्तकलाका सामग्री आकर्षक रहेको प्रतिक्रिया दिनुभयो ।

नेपालको फस्ट लेडी कोइरालाले यहाँका हस्तकलाका सामग्री धेरै नै राम्रो लागेको प्रतिक्रिया दिँदै आजको भक्तपुर भ्रमण सबैका लागि उपलब्धिमूलक भएको बताउनुभयो । भ्रमण सकेर पाहुना मध्याह्न १२ बजे फर्किनुभएको थियो । उहाँहरुलाई भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत भट्टराईले मायाको चिनो पनि प्रदान गर्नुभएको थियो ।

फस्ट लेडीले भक्तपुर भ्रमण गर्ने भएपछि आज बिहानैदेखि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको थियो । रासस