२९ आश्विन २०८३, बिहिबार

सरसफाइ परियोजनाका लागि एडिबीको छ अर्ब सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ADBकाठमाडौँ, ९ मंसिर । एसियाली विकास बैंक (एडिबी)ले साना सहर जल आपूर्ति तथा सरसफाइ तेस्रो चरणको परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु पाँच अर्ब ९० करोड ७४ लाख सहयोग गर्ने भएको छ ।

बैंकले उपलब्ध गराउने उक्त रकममध्ये रु पाँच अर्ब ७८ करोड ऋण सहायता हो भने रु १२ करोड ७४ लाख अनुदान हो ।

झापाको चारआली, सुनसरी, भोजपुर, दिक्तेल, धनुषाको सखुवा महेन्द्रनगर, कटारी, मिर्चैया, विदुर, डुम्रे, लालबन्दी, चरिकोट, चितवनको वीरेन्द्रनगर, चैनपुर, कटरिया, आबुखैरेनी, तम्सारिया, बाबियाचौर, निर्मलपोखरी, टीकापुर, चन्द्रौटा, सल्यान, मुसिकोट, सुदा र लिवाङमा जल आपूर्ति पद्धतिमा सुधार गर्न उक्त रकम खर्च गरिने छ ।

सहरी विकास तथा नगर विकास कोषले संयुक्त रुपमा सञ्चालन गर्ने ती आयोजना आगामी सात वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परियोजना अवधिमा ती साना सहरमा २० हजार ३०० अतिरिक्त शौचालय निर्माण गरिने छन् ।

ऋण तथा अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा नेपालस्थित एडिबीका देशीय निर्देशक केनिची योकोयामा र अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

त्यस अवसरमा सचिव शर्माले नेपालको भौतिक पूर्वाधारका साथै शैक्षिक एवम् सामाजिक विकासमा ऋण एवम् अनुदान सहायता उपलब्ध गराएकामा एडिबीप्रति आभार व्यक्त गर्नुभयो ।

निर्देशक योकोयामाले आधारभूत भौतिक पूर्वाधारको अभावमा नगरोन्मुख साना सहरका बासिन्दा स्वच्छ खानेपानी र सरसफाइबाट वञ्चित भएकाले बैंकले सहयोग उपलब्ध गराएको बताउनुभयो ।