इलाम, ९ मंसिर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शिक्षकको शैक्षिक प्रमाणपत्र छानबिनका लागि माग गरेको तीन हप्ता बित्न नपाउँदै इलामका ११ जना शिक्षकले पदबाट राजीनामा दिएका छन् ।
आयोगले शिक्षकको शैक्षिक प्रमाणपत्रको विवरण जिशिकामार्फत माग गरेपछि शिक्षकले धमाधम राजीनामा दिन थालेका हुन् । आजभोलि जिशिका इलाममा शिक्षकको विवरण बुझाउनेको भीड लागेको छ । मङ्सिर १५ सम्ममा शिक्षकको विवरण ल्याइसक्नुपर्ने जिशिकाले निर्देशन दिएपछि भीड बढेको हो ।
अख्तियारले शिक्षकको शैक्षिक प्रमाणपत्र नक्कली हुनसक्ने भन्दै जिशिकामार्फत विवरण माग गरेपछि उनीहरूले राजीनामा दिएको जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले बताउनुभयो । जिशिकाले राजीनामा दिने शिक्षक र विद्यालयको नाम गोप्य राखेको छ । जिल्लामा अझै पनि केही शिक्षकले राजीनामा दिने बुझिएको जिशिअ गौतमले बताउनुभयो ।
प्राथमिक तहमा एक हजार ५८७, निमाविमा ४२८, मावि तहमा २८० र उच्चमाविमा ४९ गरी दुई हजार ३४४ जना शिक्षक कार्यरत छन् ।















प्रतिक्रिया