काठमाडौँ, ९ मंसिर । नेपाल र भारतीय प्रवद्र्धक सतलज जलविद्युत् निगमबीच ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता (पिडिए)मा मंगलबार हस्ताक्षर हुने भएको छ ।
सिंहदरबारमा सोमबार भएको मन्त्रिपरिषद्को बैठकले सार्कको १८ औँ शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिइएको सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।
बैठकले भारतको आयात निर्यात (एक्जिम) बैँकमार्फत एक अर्ब अमेरिकी डलर बराबरको सहुुलियत ऋण सहायता स्वीकार गर्न मंगलबार हुने सम्झौतामा र यात्रुवाहक सवारी ट्राफिकको नियमन गर्ने सम्झौतामा हस्ताक्षर गर्न पनि स्वीकृति प्रदान गरेको छ ।
त्यस्तै काभ्रेको पनौतीमा स्थापना गरिने राष्ट्रिय प्रहरी प्रतिष्ठान आयोजना कार्यान्वयनका लागि भारत सरकारबाट करिब आठ अर्ब ७९ करोड अनुदान सहायता स्वीकार गर्न र युवा विकासका लागि सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति दिएको सरकार प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री डा रिजालले बताउनुभयो ।
नेपाल र भारतबीच परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्न र नेपाली सेनालाई अनुदानमा प्राप्त हुने एक अर्ब २३ करोड बराबरको एक थान हेलिकोप्टर प्राप्त गर्न बैठकले स्वीकृति दिएको छ । उक्त सबै विषयमा भोलि नेपाल र भारतबीच औपचारिक सम्झौतामा हस्ताक्षरका हुनेछ ।
















प्रतिक्रिया