जाजरकोट, ९ मंसिर । जाजरकोटमा गत बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएका एकै गाउँका १२ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ ।
डाँडागाउँ–७ चाउलेचौरका उनीहरूको खलङ्गा–८ पिपेस्थित भेरी नदीको किनारमा सोमबार अन्येष्टि गरिएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा डाँडागाउँ–७ चाउलेचौरका एकै घरका तीन भाइ नरबहादुर बुढा, पृथीबहादुर बुढा र धिरज बुढा थिए भने अर्का परिवारका तीन भाइहरूमा तेजबहादुर पुन, धुव्र पुन र राजेश पुन थिए ।
त्यस्तै गिरिराज रोकाय, सत्यलाल रोकाय, गणेश रोकाय, प्रेम बोहरा, डम्बर बोहरा र लालबहादुर बुढाको सोमबार सामूहिक अन्त्येष्टि गरिएको छ । उनीहरू सबै मजदुरी गर्न भारततर्फ हिँडेका थिए ।
थामिएन आफन्तको आँशु
मृतकका आफन्तका आँशु अहिले पनि रोकिएको छैन । जिल्ला नै शोकमा डुबेको छ । दुर्घटनामा परी खलङ्गा–६ तिलिङ्गेका दीपक खड्काको मृत्यु भएपछि पत्नी लक्ष्मी खड्काको होस अझै खेलेको छैन ।
सबै मृतकका परिवार र आफन्त यस्तै शोकमा छन् । “चार दिनदेखि न त सुतेका छौं, न त खाएका छौं” विदेश जाने भनेर गएका श्रीमानको मृत्यु भएपछि शोकमा डुबेकी डाँडागाउँ–९ की चन्द्र रोकाले दुई बर्षको छोरा देखाउँदै भन्नुभयो, “कमाउने लोग्ने नै मरेपछि अब यसलाई कसरी पाल्ने ?”















प्रतिक्रिया