लक्ष्मी काफ्ले
बिर्तामोड, ८ मंसिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले केही राजनीतिक दलको विवादका कारण अब माघ ८ मै संविधान बन्ने सम्भावना समाप्त भएको बताउनुभएको छ ।
झापा, इलाम, पाँचथर र ताप्लेजुङमा विभिन्न कार्यक्रम गर्ने सिलसिलामा पूर्व आएका अध्यक्ष थापाले सोमबार काठमाडौँ फर्कनुअघि बिर्तामोडमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष थापाले माघ ८ भित्रै संविधान नबने परिस्थिति राजनीतिक दलको हातबाहिर जाने बताउनुभयो । संविधान नबने दलहरुले आफ्नो सुरक्षा पनि गर्न नसक्ने दावी गर्दै थापाले त्यसपछि जनताले राप्रपा नेपाललाई मात्र समर्थन गर्ने जिकिर गर्नुभयो ।
राजनीतिक दलहरुले एक वर्ष भित्रैमा संविधान दिने प्रतिबद्धता जनाएको र त्यो समय अब दुई महिना मात्र रहेको बताउँदै अध्यक्ष थापाले यो दुई महिनाभित्रमा संविधान जारी हुन नसक्ने बताउनुभयो ।
अध्यक्ष थापाले मुख्य दुई दल सत्तामा बढी केन्द्रीत भएको र संविधान निर्माणमा ध्यान नदिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘सत्ताको बाँडफाँड नै अहिलेको विवादको मुख्य विषय हो । संविधान निर्माणमा अघि बढ्न सत्ता केन्द्रीत फोहेरी प्रतिस्पर्धा त्याग्नुपर्छ ।’ कांगेस, एमालेमा संख्याको गणितीय दम्भ रहेको बताउँदै अध्यक्ष थापाले एमाओवादी र मधेसी दलहरुमा भने चुनावको पराजयपछि मोर्चाबन्दी गर्ने पद्धति र विरोध गर्ने मानसिकताले झनै जटिलता उत्पन्न भएको बताउनुभयो ।
थापाले भन्नुभयो, ‘केही राजनीतिक दललाई आफूले जे भन्यो त्यही हुने र आफूहरुलाई कसैले विस्थापित गर्न सक्दैन भन्ने भ्रम छ । तर एउटा सानो घटनाले नै त्यो भ्रम टुट्न सक्छ ।’
विवाद निराकरण गर्न चाँडो संविधानसभाको बैठक बोलाउनुपर्ने बताउँदै थापाले भन्नुभयो, ‘बैठक बोलाउन न त राजनीतिक दल तयार छन्, न त सभामुख नै ।’ विगतमा पनि संविधानसभाको बैठक नै नबसी संविधानसभा भंग गराईएको स्मरण गर्दै अध्यक्ष थापाले संविधानसभाभन्दा बाहिर निर्णय गर्ने परिपाटी राम्रो नभएको स्पष्ट पार्नुभयो ।
थापाले अब आफ्नो पार्टीले संविधानसभामा अझ सशक्त भुमिका बढाउने बताउनुभयो । उहाँले आउँदो पुस ९ गतेबाट मेची महाकाली संकल्प रथा यात्रा सुरु गर्ने पनि जानकारी दिनुभयो । हिन्दू राष्ट्र पुनस्थापना गर्नका लागि जनतालाई जागरुक बनाउने उद्देश्यले झापामा मेची नदी किनारबाट धार्मिक अनुष्ठान गरेर रथयात्राको प्रारम्भ हुने उहाँको भनाइ थियो ।
पार्टी भित्रका असन्तुष्ट नेता पद्मसुन्दर लावतीको प्रसंगमा अध्यक्ष थापाले रहर नै लागेको भए अर्को नयाँ पार्टी खोल्दा फरक नपर्ने बताउनुभयो ।
















प्रतिक्रिया