काठमाडौ, ७ मंसिर । कर्नालीको विकासका सरोकारवालाहरुले कर्नालीको हुम्ला र डोल्पामा यथासिघ्र मोटरबाटो पुग्नु पर्ने र बनेको सडकमा कालोपत्रे हाल्नुपर्ने माग गरेका छन् ।
हुम्ला विकास पहल र संवाद डबलीको सहकार्यमा आइतबार भएको संवाद कार्यक्रममा उनीहरुले यस्तो माग गरेका हुन् ।
ब्यवस्थापिका–संसद संसदीय कर्नाली विकास उपसमितिका संयोजक जीवनबहादुर शाहीले कर्नालीको विकासको लागि सबभन्दा पहिला मोटरबाटो आवश्यक भएको बताए ।
‘कर्नाली राजमार्ग बनेपछि विकास र अरु काम गर्ने बाटो खुल्नेछ,’ उनले भने,’ ‘अनुदानमा कर्नाली बाँचनु हुदैन । राज्यले हामीलाई बाटो दियो भने हामी राज्यलाई आलु, स्याउ, जडीबुटी के चाहिन्छ, दिन्छौ ।’
कालिकोटका सभासद् महेन्द्रबहादुर शाहीले पनि राज्यले हिउँद–वर्षा चल्ने बाटो दिए आफुहरुले राज्यलाई सुनखानी खोजे पनि दिने बताए । सभासद् रिता शाहीको पनि तर्क अन्य सभासद्कै जस्तो थियो ।
कार्यक्रममा सडक विभागका उपमानिर्देशक अर्जुन थापा, कर्नाली विकास आयोगका अध्यक्ष डा. कलबहादुर रोकाया, नेपाल खाद्य संस्थानका महाप्रवन्धक डा. शिवहरि श्रेष्ठ, संवाद डवलीका अध्यक्ष दीपेन्द्र रोकायालगायतले पनि कर्णाली विकासका बारेमा बोलेका थिए ।















प्रतिक्रिया