ईश्वर भट्टराई
उर्लाबारी, ७ मंसिर । हिउँदयामको सुरूवातसँगै पूर्वी मोरङका सीमसार क्षेत्रमा सार्वजनिक विदाको दिन आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।
सार्वजनिक बिदाको सदुपयोग गर्ने उदेश्यले ती क्षेत्रमा घुमफिर गर्न, वनभोज खान, रमाइलो गर्ने आउनेको भीड लाग्ने गर्छ । झापाको दोमुखा, जामुनखाडी, सतासीधाम, ईलामको फिक्कल, कन्याम, सुनसरीको ताल तलैया, धनकुटाको
भेडेटार, मुलघाटसम्म पुग्नेहरू आन्तरिक पर्यटकहरु पनि यतिबेला मोरङका सीमसार एवं पर्यटकीय क्षेत्रमा नै रम्न थालेका छन् ।
उर्लाबारी–६ स्थित बेतिनी सीमसार र बेलबारी–९ स्थित बेतना सीमसार क्षेत्र आन्तरिक पर्यटकको प्रमुख गन्तव्यको रूपमा स्थापित हुँदै गएका छन् । सीमसारमा भएका जल जीवसँग रमाउने र एकान्त वातावरण भएको कारण वनभोज खाने र रमाइलो गर्नेको भीड् लाग्ने गरेको हो ।
सीमसार क्षेत्रमा शैक्षिक भ्रमण, रमाइलो र पिकनिङ खान आउनेको संख्या उल्लेख्य रहेको पत्रकार घनश्याम
भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार नयाँ वर्ष, भ्यालेनटाइन डे वा कुनै पर्व र उत्सवमा वनभोज खाने र घुम्न आउनेको संख्या पनि बढी नै रहेको छ । शनिबारका दिनमात्र सीमसार क्षेत्रमा ५० बढी वनभोजका टोली आउने गर्दछन् ।
भण्डारीका अनुसार शनिवार पारेर आउने अधिकांस विद्यार्थी र सरकारी कर्मचारी हुन्छन् । ‘कहिले कहिले त ठाउँ नै पाउँदैनन्’, भण्डारीले भन्नुभयो, ‘ढिलोगरी वनभोज खान आउनेका लागि ठाउँको समस्या हुनेगरेको छ ।’
यहाँ विशेषत इटहरी, धरान, विराटनगर, दमक र सीमसार आसपासका आउने गरेका छन् । महेन्द्र राजमार्गसँगै जोडिएर रहेको बेलबारीस्थित बेतना सिमसार जिल्ला कै आकर्षक गन्तब्य बनेको छ । करिब ६५ बिगाहा क्षेत्रफलमा फैलिएको यस सीमसारमा साइबेरियादेखि आउने चराहरूका साथै पच्चीस प्रजातिका दुर्लभ चराहरू, विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति पाइन्छन् ।
यहाँ आकर्षक पिकनिङ स्पोट, मनोरञ्जनात्मक बोटिङले गर्दा अन्तरिक पर्यटकका लागि एक प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको स्थानीय रामकृष्ण राईले बताउनुभयो । ‘बेतनामा प्राकृतिक दृश्यावलोकन गर्नेको भीड लाग्ने गरेको छ ।’ उहाँले भन्नुभयो, ‘सुन्दर राकृतिक दृश्य र बाहिरी वातावरणभन्दा टाढा रहेकाले बनभोज खानेको भीड लागेको हो ।’
यता पूर्वी मोरङको चुलीपोखरी र राजारानी पोखरी पहाडी इलाकामा भएको कारण पनि प्रकृतिसँग रमाउने र घुम्नेहरूको लागि आकर्षक गन्तब्य बन्ने गरेको छ । उत्तरी मोरङको भोगटेनी ८ मा पर्ने राजारानी क्षेत्रमा दशैंलगत्तै आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको छ ।
वर्षेनी सयौँ टोली वनभोजका लागि राजारानी पुग्ने गरेको स्थानीय डम्बरबहादुर मगरले बताउनुभयो । उहाँका अनुसार राजारानीको मनमोहक दृष्यावलोकन गर्न मोरङ र सुनसरीका पर्यटक आउने गरेका छन् ।
मोरङको लेटाङबाट ४ किमि उत्तर पश्चिममा पर्ने प्राचीन राजारानीमा व्यवस्थित पिकनिक स्थल, पानी, शौचालय र कटेजहरू पनि निर्माण गरिएकोले मोरङको सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको मगरको भनाइ छ ।
राजारानी क्षेत्रमा ऐतिहासिक राजारानी र राजकुमारी पोखरी रहेको छ । यस क्षेत्रलाई वनस्पति विदहरूले सुनाखरीको राजधानी समेत भनेका छन् । महाभारत पर्वत श्रेणीको काखमा अवस्थित यस क्षेत्रबाट झण्डै सय प्रकारका सुनाखरी अवलोकन गर्न पाउने वनस्पति विज्ञानका शिक्षक एवं पत्रकार रामचन्द्र अधिकारीले बताउनुभयो ।















प्रतिक्रिया