टोकियो, ५ मङ्सिर । जापानको संसदको तल्लो सभा शुक्रबार विघटन गरिएको छ । प्रधानमन्त्रीले आह्वान गर्नुभएको मध्यावधि निर्वाचनको पूर्व सन्ध्या पारेर सो संसदको विघटन गरिएको बताइएको छ ।
आगामी आमनिर्वाचनको तयारीको लागि भन्दै सो संसद विघटन गरिएको बताइएको छ । प्रधानमन्त्री सिन्जो अबेले यसअघि नै आमनिर्वाचनको घोषणा गरिसक्नुभएको छ ।
प्रधानमन्त्री अबेले नयाँ र ताजा जनमतमा जानुपर्ने अवस्था आएको भन्दै नयाँ निर्वाचनको घोषणा गर्नुभएकोले आज संसदको तल्लो सभाको विघटन गर्नुभएको हो ।
सम्भवत आगामी महिना जापानमा आमनिर्वाचन सम्पन्न गर्नेगरी मिति तोकिने छ । यसअघि डिसेम्बरसम्ममा निर्वाचन गरिसक्ने भनिएको भए पनि मिति भने तोकिएको छैन ।
उहाँले यसअघि आफूले अघि सारेको आर्थिक विकासका साथै कर प्रणालीसम्बन्धी कार्यक्रम वर्तमान संसदबाट सम्भव नरहेको र ती कार्यक्रमहरु पारित गर्नका लागि यस संसदले आफूलाई बहुमत दिन नसक्ने भन्दै मध्यावधि निर्वाचनको प्रस्ताव गर्नुभएको हो ।
जापानी संविधानको धारा सातमा रहेको प्रावधान अनुसार संसदको तल्लो सभा विघटन गरिएको छ– प्रवक्ता बन्मेई इबुकीले शुक्रबार जानकारी दिनुभएको छ ।
जापानी प्रधानमन्त्रीको चारवर्ष लामो कार्यकालको करिब मध्यतिर नै उहाँले अर्काे निर्वाचनको पहल सुरु गर्नुभएको हो ।
उहाँले विगतका केही वर्षदेखि आर्थिक मन्दीमा फसेको जापानमा आर्थिक विकासका विभिन्न कार्यक्रमहरु ल्याउने प्रतिबद्धता व्यक्त गर्दै सत्तामा पुग्नुभएको थियो ।
उहाँमाथि पछिल्लो समयमा विशेषगरी बिक्री करका बारेमा नीति अख्तियार गर्न अप्ठेरोपरेको थियो । सो करबृद्धिको योजनामा जापानी संसदले अनुमति नदिएपछि उहाँको यो निर्णय आएको हो ।
उहाँले गतहप्तामात्र आफ्नो उक्त कदमलाई जनताले के भन्छन् उनीहरुकै अनुमति लिन चाहने धारणा सार्वजनिक गर्नुभएको थियो ।
उहाँको निर्वाचन आगामी डिसेम्बर महिनाको १४ तारिखमा हुने अनुमान गरिएको छ । सो दिनका लागि निर्वाचन घोषणा गर्नेगरी शुक्रबार मन्त्रिपरिषदको बैठक बस्ने बताइएको छ ।
सरकारी स्रोतले भन्यो– सम्भवत डिसेम्बर १४ का लागि निर्वाचनको मिति घोषणा गरिने छ । संसद बिघटन गरिएपछि आगामी निर्वाचनको मिति तोक्नका लागि शुक्रबार अपरान्हका लागि मन्त्रिपरिषदको बैठक आह्वान गरिएको छ ।
प्रधानमन्त्री अबेले बिहीबार त्यहाँका व्यापारी एवम् व्यवसायीहरुसँग परामर्श गर्नुभएको थियो । सो अवसरमा उहाँले भन्नुभयो– मलाई थाहा छ कि आगामी निर्वाचन निकै प्रतिश्पर्धात्मक हुनेछ ।
आफू प्रधानमन्त्री भएपछि नै आर्थिक विकासका कार्यक्रमहरु सञ्चालन गरिरहेको भन्दै ती कार्यक्रमहरु सही छन् वा छैनन् भन्ने बारेमा आफूले जनतासँग सोध्ने उहाँले बताउनुभएको छ ।
यसअघि हालैमात्र जापानी एक दैनिक पत्रिका आसाही सिम्बुनले गरेको सर्वेक्षणअनुसार अबे सरकारको लोकिप्रियतामा केही ह्रास आएको छ ।
महिनादिनअघिको तुलनामा हालैका दिनमा गरिएको सो सर्वेक्षणमा यसअघिको जापानी मन्त्रिपरिषदको लोकप्रियताको प्रतिशत ४२ रहेकोमा हाल त्यो घटेर ३९ मा आएको छ । रासस/एएफपी













प्रतिक्रिया