काठमाडौँ, ३ मंसिर । ऊर्जा मन्त्री राधा ज्ञवालीले आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को अठारौँ शिखर सम्मेलन अवधिभरि मुख्य क्षेत्रमा विद्युत् भार कटौती नहुने जानकारी दिनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालद्वारा बुधबार आयोजना गरेको साक्षात्कारमा मन्त्री ज्ञवालीले सार्क अवधि अर्थात् यही मङ्सिर १२ गतेसम्म सार्कका मुख्य क्षेत्रहरू उपत्यका काठमाडौँसहित विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, तथा प्रतिनिधिको भ्रमण गर्ने क्षेत्र जनकपुर, लुम्बिनी, मुक्तिनाथलगायतका क्षेत्रमा विद्युत्भार कटौती नहुने बताउनुभयो ।
मन्त्री ज्ञवालीका अनुसार सार्क सम्मेलनमा मुख्य तीन महत्वपूर्ण विषयमा छलफल हुने जसमध्ये प्रमुख विषय ‘ऊर्जा सहयोग सम्झौताका लागि सार्क संरचना’ रहेको छ ।
मन्त्री ज्ञवालीले भन्नुभयो, ‘विद्युत्भार कटौती कम गर्न विभिन्न विद्युत् आयात गर्नुका साथै निर्माणाधीन आयोजनाको काम छिटो सम्पन्न गर्ने र साना आयोजना निर्माण गर्न सहयोग गर्ने, बुढीगण्डकी र नर्सिङगाडजस्ता आयोजनाका काम अगाडि बढाउने योजना रेहको छ ।’ उहाँले अरुण तेस्रोको पिडिएसँगै माथिल्लो कर्णालीको कामलाई अगाडि बढाउने समेत बताउनुभयो ।
वर्तमान राजनीतिक अस्थिरतालाई सहमतिका आधारमा समाधान गरेर निर्धारित समय माघ ८ भित्रमा संविधान जारी गरी मुलुकलाई आर्थिक तथा सामाजिक विकासको बाटोमा अगाडि बढाउन विभिन्न राजनीतिक दलका नेतृत्वसँग ज्ञवालीले आग्रह गर्नुभयो ।
मन्त्री ज्ञवालीले भन्नुभयो, ‘आज पनि लाखौँ युवा रोजगारीका लागि विदेश पलायन हुने गरेका छन्, मुलुकभित्र रहेका विभिन्न स्रोत साधन प्रयोग गर्दै ऊर्जाको विकास गरी रोजगारीको सिर्जना गर्नेतर्फ सरकार लागिपरेको छ ।’













प्रतिक्रिया