भक्तपुर, ३० कात्तिक । उद्योग मन्त्री महेश बस्नेतले पुनःसंरचनाको काम मन्त्रिपरिषद्बाटै सुरु गर्नुपर्नेे बताउनुभएको छ ।
भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घको प्रथम वार्षिक साधारणसभाको आइतबार थिमिमा उद्घाटन गर्दै मन्त्री बस्नेतले मन्त्रालयको सही संरचना नहुँदा जनताले सानो काममा पनि ठूलै दुःख पाइरहेकाले मन्त्रालयहरुको पुनःसंरचना आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘एउटा सानो कामका लागि ३–४ वटा मन्त्रालय धाउनुपर्ने बाध्यता जनतालाई छ, त्यसैले राज्यको पुनःसंरचनासँगै मन्त्रिपरिषद्को पुनःसंरचना गर्नुपर्छ ।’
अर्थ मन्त्रालयलाई राजस्व मन्त्रालयसहितको दुईवटा मन्त्रालय बनाइनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री बस्नेतले भन्नुभयो, ‘अर्थ मन्त्रालयलाई धेरै भार भयो, यसलाई टुक्र्याएर दुईवटा मन्त्रालय बनाइनुपर्छ, एउटा अर्थ मन्त्रालय, अर्को राजस्व मन्त्रालय । त्यस्तै, वाणिज्य मन्त्रालयलाई उद्योगमा गाभ्नुपर्छ तबमात्रै जनतालाई सहज हुन्छ ।’
अर्थमन्त्रीको विरोध गर्दै हिँडेको भन्ने चर्चाबारे उहाँले भन्नुभयो– ‘मैले अर्थमन्त्रीको विरोध गर्दै हिँड्यो भन्ने चर्चा चलेछ, मलाई अरु मन्त्रालयको विरोध गर्नु छैन, मेरो भनाइ अर्थ मन्त्रालयले उद्योग व्यवसायीलाई प्रोत्साहन दिने कार्यक्रम ल्याउनुपर्छ भन्ने हो । अहिले निरुत्साहित गर्ने काम भइरहेका छन् भन्ने मात्रै हो ।’
उहाँले स–साना व्यवसायीलाई पनि भ्याटमा आउनै पर्ने अव्यावहारिक व्यवस्थाले कतिपय व्यवसायीले व्यवसाय दर्ता नै नगरी उद्योग चलाउनु पर्ने बाध्यता रहेका पनि उहाँले उल्लेख गर्नुभयो ।
कर बढी असुल्ने व्यवस्थाले मात्रै देशको विकास नहुने जिकिर गर्दै मन्त्री बस्नेतले भन्नुभयो, ‘कर उठाएर मात्रै नेपालको समृद्धि हँुदैन, नेपालको समृद्धिका लागि उद्योगको विकास र विस्तार गर्नुपर्छ, सरकारको ध्यान यसतर्फ जान जरुरी छ ।’
उद्योग मन्त्रालयले देशभरको औद्योगिक प्रोफाइल बनाउन लागेको, औद्योगिक सूचना केन्द्र गठन गर्न लागेको, खानीहरुको अन्वेषण गर्न लागेको र खानी विभाग तथा कम्पनी रजिष्ट्रार कार्यालयलाई पाँचवटै विकास क्षेत्रमा विस्तार गर्न लागेको उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठले मुलुकलाई आर्थिक रुपमा समुन्नत बनाउन राज्यले घरेलु तथा साना उद्योग व्यवसायीलाई सुविधा दिनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
राज्यले विदेशबाट ल्याइने फर्निचरका सामग्रीलाई विस्थापन गरी स्वदेशी फर्निचरलाई प्रोत्साहन दिनुपर्ने बताउँदै उहाँले विदेशीभन्दा गुणस्तरीय र सस्तो फर्निचर यहाँ उत्पादन भएपनि राज्यको गलत नीतिका कारण व्यवसायी पछाडि परेको गुनासो गर्नुभयो ।
कार्यक्रममा फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घका अध्यक्ष सुरेन्द्र सार, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रज्ज्वल जोन्छे, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठलगायतले सरकारले उद्योग सञ्चालनमा व्यवसायीलाई प्रोत्साहन दिने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।
त्यसैगरी सङ्घको आइतबार नै सम्पन्न प्रथम साधारणसभाले पुनः प्रदीप श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको प्रथम उपाध्यक्षमा छविलाल भण्डारी, द्वितीय उपाध्यक्षमा रत्नप्रसाद सुवाल, महासचिवमा ज्ञानबहादुर न्यौपाने, सचिवमा प्रेमबहादुर सुवाल, कोषाध्यक्षमा राकेश श्रेष्ठ, सह–कोषध्यक्षमा गङ्गाप्रसाद सुवाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा केशव श्रेष्ठ, अमृत श्रेष्ठ, शैलेन्द्र कोजु, पुनम श्रेष्ठ, लक्ष्मीकेशरी लबजु, कृष्णप्रसाद शिल्पकार, धु्रव नाखन र गोविन्दप्रसाद ढकाल रहेका छन् ।













प्रतिक्रिया